चट्टानजस्तै बनेको डेब्री फुटाएर १० दिनपछि दुई जनालाई कसरी जीवित निकालियो ? - Chaitanya News
  • 2026-09-04
  • 11:50:43
  • शुक्रबार,भाद्र १९, २०८३
  • चट्टानजस्तै बनेको डेब्री फुटाएर १० दिनपछि दुई जनालाई कसरी जीवित निकालियो ?

    चट्टानजस्तै बनेको डेब्री फुटाएर १० दिनपछि दुई जनालाई कसरी जीवित निकालियो ?

    काठमाडौँ– भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई १० दिनपछि जीवितै उद्धार गर्न सुरक्षाकर्मी सफल भएका छन्। करिब २५ मिटर डेब्रीले पुरिएको सुरुङभित्र निरन्तरको प्रयासपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान सञ्जय साह र कबीर महर्जनलाई बाहिर निकालेको हो।

    बाढीपछि चट्टानजस्तै कडा बनेको डेब्रीका कारण सुरुङसम्म पुग्न उद्धार टोलीलाई ठूलो चुनौती थियो। सुरुङको प्रवेश बिन्दुसम्म पुग्न उद्धारकर्मीले विस्फोटक पदार्थ प्रयोग गर्दै डेब्री हटाएका थिए। लामो समयसम्मको खोतल्ने र विस्फोट गराउने कामपछि अन्ततः सुरुङभित्र प्रवेश गर्ने बाटो खुलेको थियो।

    सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सुरुङको करिब २५ मिटर भाग डेब्रीले पुरिएको थियो। उद्धार टोलीले निरन्तर काम गर्दै इन्ट्री प्वाइन्ट पत्ता लगाएपछि सुरुङभित्र प्रवेश गर्न सम्भव भएको हो।

    सुरुङभित्र प्रवेश गरेपछि पनि उद्धार सहज थिएन। पानी जमेकाले उद्धारकर्मीले वाटर जेट प्रयोग गरी पानी बाहिर पठाएका थिए। सुरुङभित्र उभिएर काम गर्न सक्ने अवस्था नभएकाले उद्धारकर्मीहरू घस्रिँदै र खोस्रिँदै अगाडि बढेका थिए।

    ‘उद्धारकर्मीहरू उभिएर काम गर्ने अवस्थामा थिएनन्, सुरुङभित्र खोस्रिएर काम गर्नुपरेको थियो,’ बस्नेतले भने।

    उद्धारका लागि नेपाली सेनाका ६५ जना जनशक्ति विपद्को दोस्रो दिनदेखि नै आयोजनास्थलमा खटिएका थिए। उनीहरूसँगै सशस्त्र प्रहरीका तालिमप्राप्त उद्धारकर्मी तथा जलविद्युत् आयोजनाका इन्जिनियरसहित थप २८ जना परिचालित थिए।

    उद्धार गरिएका कबीर महर्जन त्रिशूली–३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर हुन् भने सञ्जय साह विद्युत् प्राधिकरणको मेकानिकल समूहका फोरम्यान हुन्।

    ६० मेगावाट क्षमताको त्रिशूली–३ ए आयोजनामा मर्मतसम्भारको काम चलिरहेका बेला बाढी आएपछि सुरुङभित्र करिब ४६ जना फसेको आकलन गरिएको थियो। तीमध्ये १० दिनसम्म सुरुङभित्र रहेका दुई जनालाई जीवितै बाहिर निकाल्न सक्नु उद्धार अभियानको महत्वपूर्ण सफलता बनेको छ।

    नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा रहेको आयोजनाको सुरुङतर्फ उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाका प्राविधिकहरू निरन्तर परिचालित थिए। आयोजनाको ड्याम भने रसुवा जिल्लाको भूभागमा पर्छ।