रसुवा– भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानसँगै मृतकको पहिचान गर्ने काम पनि चुनौतीपूर्ण बनेको छ। हालसम्म १,२९० जनाको शव फेला परे पनि तीमध्ये १,१४१ जनाको पहिचान हुन सकेको छैन।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार फेला परेका शवमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन्। यसबाहेक ५३२ वटा मानव शरीरका आंशिक अङ्गसमेत फेला परेका छन्। अस्पतालमा उपचारका क्रममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये ९२६ वटाको व्यवस्थापन भइसकेको छ। तर ठूलो संख्यामा शवको पहिचान हुन नसक्दा आफन्तसम्म मृतकको विवरण पुर्याउने काम थप जटिल बनेको छ।
मृतकको पहिचानका लागि प्रहरीले डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म मृतकका १,१४३ र आफन्तका ७१९ गरी कुल १,८६२ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका शवहरूको विवरणसमेत प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ।
बाढीमा परी अझै ४,७९८ जना बेपत्ता रहेको तथ्याङ्क छ। बेपत्ता हुनेमा २,८४७ नेपाली र ६०१ विदेशी नागरिक रहेका छन् भने १,३५० जनाको सम्बन्धमा फोनमार्फत जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
यसबीच सुरक्षाकर्मीको सक्रियतामा ८,१२७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६,०९० पुरुष र २,४७२ महिला रहेका छन्।
बाढीपछिको खोजी अभियानमा ठूलो संख्यामा मानवीय क्षति पुष्टि हुँदै गए पनि अझै हजारौँ मानिसको अवस्था अज्ञात रहेकाले खोज तथा पहिचानको कामलाई तीव्रता दिनुपर्ने अवस्था देखिएको छ।