रसुवा बाढी अपडेटः सेनाको हेलिकप्टरबाट १७ विदेशीसहित ४४९ जनाको उद्धार - Chaitanya News
  • 2026-08-29
  • 16:06:56
  • शनिबार,भाद्र १३, २०८३
  • रसुवा बाढी अपडेटः सेनाको हेलिकप्टरबाट १७ विदेशीसहित ४४९ जनाको उद्धार

    रसुवा बाढी अपडेटः सेनाको हेलिकप्टरबाट १७ विदेशीसहित ४४९ जनाको उद्धार

    काठमाडौँ– रसुवामा आएको बाढीबाट प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले शुक्रबार दिउँसो १२ः२० बजेसम्म १७ विदेशी नागरिकसहित ४४९ जनाको हवाई उद्धार गरेको छ।

    सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी र मैलुङलगायत क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो।

    साढे चार हजारभन्दा बढी सैनिक परिचालित
    बाढी प्रभावित जिल्लाहरूमा खोज, उद्धार, आपत्कालीन उपचार तथा राहत वितरणका लागि नेपाली सेनाका करिब ४ हजार ५ सयभन्दा बढी सैनिक परिचालित छन्।

    सेनाका अनुसार परिचालित जनशक्तिले अन्य निकायसँग समन्वय गरी घाइतेहरूको खोज तथा उद्धार गरिरहेको छ। साथै, प्रभावित क्षेत्रमा आपत्कालीन उपचार र राहत सामग्री वितरणको कामसमेत भइरहेको छ।

    बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतसम्बन्धी कार्यलाई समन्वयात्मक रूपमा निरन्तरता दिइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।