बाढीले थोपरेको पीडाबीच मधेसमा दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व राखी पर्व मनाइँदै - Chaitanya News
  • 2026-08-28
  • 12:06:51
  • शुक्रबार,भाद्र १२, २०८३
  • बाढीले थोपरेको पीडाबीच मधेसमा दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व राखी पर्व मनाइँदै

    बाढीले थोपरेको पीडाबीच मधेसमा दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व राखी पर्व मनाइँदै

    महोत्तरी– भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो क्षति पुर्‍याएको पीडाबीच मधेसमा आज शुक्रबार दाजुभाइ–दिदीबहिनीको प्रेम, आत्मीयता र समर्पणको पर्व ‘राखी’ मनाइँदैछ।

    साउन पूर्णिमाका दिन मनाइने मिथिलाको यो परम्परागत पर्वमा दिदीबहिनीले दाजुभाइको दाहिने हातमा रंगीचंगी राखी बाँध्दै सुख, समृद्धि, दीर्घायु र सफलताको कामना गर्ने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार वस्त्र, आभूषण वा नगद दक्षिणा दिने परम्परा छ।

    केही दिनअघिदेखि नै मधेसका हाटबजारमा विभिन्न डिजाइन र रङका राखी बिक्रीका लागि राखिएका थिए। बस्तीबस्तीमा राखी पर्वसँग सम्बन्धित गीत पनि गुन्जिएका छन्। तर यसपटक पर्वको मुखैमा आएको बाढीले जनधनमा ठूलो क्षति पुर्‍याएपछि विगतको जस्तो उल्लास भने देखिएको छैन।

    “पुस्तौँदेखि चलिआएको पर्व भएकाले मनाउँदै छौँ, तर बाढीले ठूलो क्षति पुर्‍याएको छ। आफ्नै जिल्लाका कैयौँ व्यक्ति अझै सम्पर्कविहीन छन्, यस्तो अवस्थामा पहिलेको जस्तो उत्साह कसरी हुनु?” बर्दिबास–२ की अर्चना झाले भनिन्।

    उनका अनुसार विपत्ति आए पनि केही समय दुःखलाई थाती राखेर आफ्ना चाडपर्व र संस्कृतिलाई निरन्तरता दिनु नेपाली समाजको विशेषता हो।

    राखीका लागि दिदीबहिनीले टाढा रहेका दाजुभाइलाई अघिल्लै दिनदेखि निम्ता गर्ने गर्छन्। विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा बोलाएर राखी बाँध्ने तथा अनुकूलताअनुसार माइती जाने चलन छ। दिदीबहिनीले राखी बाँधेर दाजुभाइलाई मिठाइ खुवाउने गर्छन्।

    मिथिलामा रक्षाबन्धनलाई ‘राखी’ भन्ने गरिन्छ। हिन्दू परम्परामा साउन पूर्णिमाका दिन गुरु–पुरोहितले पनि अभिमन्त्रित रक्षासूत्र बाँधिदिने चलन छ। तर दिदीबहिनीले दाजुभाइलाई रंगीचंगी राखी बाँध्ने परम्पराले मिथिलाको राखीलाई छुट्टै सांस्कृतिक पहिचान दिएको छ।

    संस्कृतिविद् ध्रुव रायका अनुसार राखी मिथिलाको विशिष्ट सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो। विभिन्न जातजाति, धर्म र समुदायले समेत आपसी सद्भावका साथ यो पर्व मनाउने गरेका छन्।

    यसरी प्राकृतिक विपत्तिले दिएको पीडाबीच पनि मधेसमा दाजुभाइ–दिदीबहिनीको सम्बन्ध, प्रेम र आत्मीयताको प्रतीक राखीमार्फत पुरानो परम्परालाई निरन्तरता दिइएको छ।