धनगढी: धनगढी उपमहानगरपालिकाले दसैँका दिन नागरिकलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको छ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका अनुसार दसैँको टीका थाप्न आवतजावत गर्ने नागरिकलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्न लागिएको हो।
उपमहानगरपालिकाले धनगढीको ट्राफिक चौराह, सहिद गेट चोक र क्याम्पस चोकबाट उक्त सेवा उपलब्ध गराउने जनाएको छ। नगर प्रहरीमार्फत जिप र मोटरसाइकल प्रयोग गरी यातायात सेवा सञ्चालन गरिने प्रमुख हमालले जानकारी दिएका छन्।
दसैँका दिन टीका थाप्न आफन्तको घर जानुपर्ने तर सवारीसाधनको सुविधा नभएका नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको उनले बताए।
‘टीका थाप्न आवतजावत गर्नुपर्ने तर सवारीसाधनको सुविधा नभएका नागरिकलाई लक्षित गर्दै यातायात सेवा सञ्चालन गर्न लागिएको हो,’ प्रमुख हमालले भने।
उनले दसैँका दिन आवतजावत गर्नुपर्ने नागरिकलाई उपमहानगरपालिकाले उपलब्ध गराउने निःशुल्क यातायात सेवाको लाभ लिन आग्रह गरेका छन्।