साइत कुर्न नसक्नेले पनि टीका लगाउन मिल्ने - Chaitanya News
  • 2026-10-21
  • 10:26:29
  • बुधबार,कार्तिक ०५, २०८३
  • साइत कुर्न नसक्नेले पनि टीका लगाउन मिल्ने

    साइत कुर्न नसक्नेले पनि टीका लगाउन मिल्ने

    दसैंको टीका लगाउन उत्तम साइत खोज्नेहरूका लागि बिहान १० बजेर २६ मिनेटको समय तोकिएको भए पनि बाध्यात्मक अवस्थामा साइत कुर्नैपर्ने हुँदैन। हतारो भएका वा टाढाको यात्रामा जानुपर्ने व्यक्तिले बिहान घाम झुल्किएपछि नै टीका लगाउने परम्परा रहेको छ।

    पहिलेदेखि नै दसैंको दिन जुनसुकै समयमा पनि मान्यजनबाट टीका ग्रहण गर्न सकिने मान्यता रहँदै आएको छ। बिहान घाम झुल्किएपछि विधिपूर्वक टीका ग्रहण गरेर टाढा रहेका मान्यजनकहाँ टीका थाप्न जान कुनै बाधा नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन्।

    उनका अनुसार टीकाको साइतलाई लिएर अनावश्यक दुविधा पाल्न आवश्यक छैन। उनले भने, ‘त्यसैले टीकाको साइतको दुविधा नपाले हुन्छ।’

    दसैंका दिन ढिलो गरी नेपाल आइपुग्ने अवस्था भएका व्यक्तिले समेत साइत बितिसकेको भन्दै चिन्ता लिनु नपर्ने भट्टराईको भनाइ छ। जुनसुकै समयमा भए पनि मान्यजनबाट टीका र जमरासहितको प्रसाद ग्रहण गर्नु उपयुक्त हुने उनले बताएका छन्।

    कतिपयले चन्द्रमाको अवस्थालाई समेत आधार मानेर टीका लगाउने दिशा तय गर्ने गरे पनि सामान्यतया यसलाई विस्तृत रूपमा पालना गर्ने चलन छैन।

    कलशको जललाई पवित्र मान्ने धार्मिक विश्वास

    धार्मिक परम्पराअनुसार दुर्गा विसर्जनपछि टीका लगाउने क्रम सुरु हुन्छ। सबैभन्दा पहिले कुलदेवता र पितृदेवतालाई टीका चढाउने चलन छ। कतिपय स्थानमा घरको मूल ढोकामाथि टीका लगाउने परम्परासमेत रहेको छ। त्यसपछि मान्यजनबाट टीका र जमरा ग्रहण गरिन्छ।

    दुर्गा विसर्जनपछि कलशमा राखिएको जललाई अत्यन्त पवित्र मानिन्छ। उक्त जलले अभिषेक गरी इष्टदेवता र कुलदेवतालाई स्मरण गर्दै जमरा काट्ने धार्मिक परम्परा छ। त्यसपछि घरको मूल ढोकामाथि टीका लगाउने चलन छ।

    घरमा गुरुपुरोहित स्थापना गरिएको भए उहाँहरूबाट र नभए घरका मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गर्ने गरिन्छ। त्यसपछि अन्य मान्यजनबाट टीका लगाउने परम्परा छ।