रसुवा बाढीमा सेनाको सक्रियता : ८०२ जनाको उद्धार, ३३८ घाइतेको उपचार - Chaitanya News
  • 2026-08-27
  • 18:21:20
  • बिहिबार,भाद्र ११, २०८३
  • रसुवा बाढीमा सेनाको सक्रियता : ८०२ जनाको उद्धार, ३३८ घाइतेको उपचार

    रसुवा बाढीमा सेनाको सक्रियता : ८०२ जनाको उद्धार, ३३८ घाइतेको उपचार

    काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले खोज, उद्धार तथा उपचार अभियानलाई तीव्र बनाएको छ। बाढी प्रभावित क्षेत्रबाट बुधबार अपराह्न साढे ३ बजेसम्म सेनाले ८०२ जनाको उद्धार गरेको छ।

    सेनाका अनुसार उद्धार गरिएकामध्ये ६०२ जनाको हवाई माध्यमबाट र २०० जनाको जमिनी माध्यमबाट उद्धार गरिएको हो। हवाई उद्धारमा ५० जना विदेशी नागरिकसमेत रहेका छन्।

    सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङलगायत क्षेत्रबाट बाढीमा फसेका तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

    उद्धारसँगै घाइतेको उपचारलाई समेत प्राथमिकतामा राखिएको छ। वीरेन्द्र अस्पतालबाट चिकित्सक अधिकृतसहित खटिएको मेडिकल टोलीले त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमार्फत ३३८ जना घाइतेलाई उपचार प्रदान गरेको सेनाले जनाएको छ।

    खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन र सैनिक कुकुरसमेत परिचालन गरिएको छ। उद्धार, उपचार तथा राहत वितरणका लागि नेपाली सेनाका चार हजार दुई सयभन्दा बढी जनशक्ति परिचालित छन्।

    यसैबीच, बाढीका कारण अवरुद्ध धादिङस्थित पृथ्वी राजमार्ग खुलाउन पनि सेनाको टोली परिचालन भएको छ। सडकमा जमेको लेदो हटाएर यातायात सञ्चालनमा ल्याउने काम भइरहेको सेनाले जनाएको छ।