रसुवा बाढीमा परी ३८४ पर्यटक सम्पर्कविहीन - Chaitanya News
  • 2026-08-26
  • 18:00:54
  • बुधबार,भाद्र १०, २०८३
  • रसुवा बाढीमा परी ३८४ पर्यटक सम्पर्कविहीन

    रसुवा बाढीमा परी ३८४ पर्यटक सम्पर्कविहीन

    काठमाडौँ– रसुवाको भोटेकोसीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन्।

    नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोसीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका छन्।

    पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाईंकुण्ड र कैलाश मानसरोवर गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए।

    बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

    बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट् टुर्स एण्ड ट्राभलमार्फत ७१ जना, काठमाडौँ होलिडे टुर्स एण्ड ट्राभलमार्फत १७ जना, लिफ होलिडेमार्फत ५५ जना, कैलाश जर्नीमार्फत ३१ जना, एक्सप्लोर भ्याकेशनमार्फत सात जना, ट्रेकर सोसाइटीमार्फत ९२ जना घुम्न गएका थिए।

    यस्तै, रिचा टुर्स एण्ड ट्राभलमार्फत १२ जना, फिस्टेल टुर्स एण्ड ट्राभलमार्फत २७ जना, हिमालयन ग्यासियरमार्फत ५२ जना र अल्पाइन इको ट्रेकमार्फत २० जना भ्रमणमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

    बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरी चौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ।

    नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्रि नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ।