काठमाडौँ– तिब्बततर्फ नदी थुनिएर बनेको अस्थायी बाँध फुटेपछि भोटेकोशी हुँदै नेपाल प्रवेश गरेको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा तत्काल राहत तथा उद्धारका लागि सरकारले साढे दुई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। उक्त रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिमार्फत आपत्कालीन उद्धार तथा राहत कार्यमा परिचालन गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए।
उनका अनुसार तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा आएको बाढीले नेपालतर्फ रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा क्षति पुर्याएको हो।
बाढीपछि सरकारले उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउन सुरक्षा संयन्त्र परिचालन गरेको छ। रसुवाको टिमुरे, स्याफ्रुबेंसी र रसुवागढी क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको उप्रेतीले बताए।
घटना लगत्तै विपद् कमान्ड पोस्टको बैठक बसेर प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरिएको उनले जानकारी दिए।
‘सरकार यस विषयमा अत्यन्त संवेदनशील छ। नुवाकोट, रसुवा र धादिङका जिल्ला विपद् व्यवस्थापन समितिलाई आपत्कालीन अवस्थाका लागि रकम पठाउने निर्णय गरेका छौँ,’ उप्रेतीले भने, ‘रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पठाउँदै छौँ।’
बाढीको थप जोखिम कम गर्न सम्भावित प्रभावित क्षेत्रमा पूर्वसूचना प्रणालीलाई समेत सक्रिय बनाइएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान प्रणालीमार्फत चितवनसम्मका सम्भावित प्रभावित क्षेत्रमा बिहान ९ बजेर ५ मिनेटमा एसएमएसमार्फत सतर्कता सूचना पठाइएको उप्रेतीले बताए।
बाढीको अवस्था निरन्तर निगरानीमा राख्दै आवश्यकताअनुसार प्रत्येक आधा घण्टामा अलर्ट जारी गर्ने व्यवस्था गरिएको छ। बाढी मलेखु पार गरिसकेको भन्दै उनले मुग्लिङ बजारसहित त्रिशूली नदी करिडोरमा बाढीको प्रभाव पर्न सक्ने भएकाले ती क्षेत्रलाई उच्च निगरानीमा राखिएको बताए।
बाढीका कारण जल तथा मौसम विज्ञान विभागको एउटा स्टेसनसमेत बगाएको जानकारी दिँदै उप्रेतीले माथिल्लो क्षेत्रमा पानीको सतह घट्न थालेको प्रारम्भिक सूचना प्राप्त भएको बताए। तिब्बततर्फको अस्थायी बाँध फुटिसकेकाले माथिबाट आउने बाढीको मात्रा क्रमशः घट्ने अपेक्षा गरिएको उनको भनाइ छ।