काठमाडौं– रसुवा बाढीका कारण ९ वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षति भएका छन्।
तिब्बतबाट रसुवा भोटेकोसी नदीमा आएको बाढीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त भएका हुन्।
नेपाल बैंकर्स एसोसिएसन अध्यक्ष सन्तोष कोइरालाका अनुसार समान्य सोधपुछमा बैंकहरूका ९ वटा शाखामा पूर्ण क्षति पुगेको जानकारीमा आएको हो।
‘हालसम्मको जानकारी अनुसार ९ बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त छन् भने कर्मचारी पनि आधाभन्दा धेरै सम्पर्कमा छैनन्,’ कोइरालाले भने, ‘कर्मचारी सम्पर्कमा आउने क्रम जारी छ, क्षतिको विवरण पनि क्रमिक रूपमा संकलन भइरहेको छ।’
कुन बैंकका शाखा तथा कति कर्मचारी भन्ने विवरण संकलन क्रममा रहेको उनले बताए। बाढीले क्षति पुर्याएको क्षेत्रमा जान सकिने अवस्था छैन। फोन तथा इन्टरनेटका टावरमा समेत बाढीले क्षति पुर्याएकाले सम्पर्क गर्न पनि असहज भइरहेको उनले बताए।