काठमाडौँ– रसुवामा आएको बाढीपछि प्रभावित नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाले स्थल र हवाई दुवै माध्यमबाट उद्धार अभियान तीव्र बनाएको छ।
बाढीका कारण जोखिममा परेका तथा घाइते भएका नागरिकलाई सैनिक टोलीले घटनास्थलबाट स्ट्रेचरमार्फत सुरक्षित स्थानमा ल्याउने, प्राथमिक उपचार गर्ने र थप उपचार आवश्यक परेकालाई हेलिकोप्टरमार्फत उपचार केन्द्रसम्म पुर्याउने काम गरिरहेको छ।
सैनिक स्वास्थ्यकर्मीले उद्धार गरिएका घाइतेलाई घटनास्थलमै आवश्यक प्राथमिक उपचार दिइरहेका छन्। गम्भीर अवस्थाका तथा तत्काल थप उपचार आवश्यक पर्ने व्यक्तिलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका प्रवक्ताका अनुसार प्रशासनसँगको समन्वयमा टिमुरे, स्याफ्रुबेसी, मैलुङ र त्रिशूली क्षेत्रमा हवाई उद्धारलाई प्राथमिकता दिइएको छ। धुन्चे र त्रिशूलीबाट समेत सैनिक जनशक्ति परिचालन गरी स्थलमार्फत खोज तथा उद्धारको काम अघि बढाइएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकाय तथा अन्य उद्धार संयन्त्रसमेत परिचालित छन्। भौगोलिक अवस्था र सडक तथा स्थलमार्गको पहुँचअनुसार स्थल र हवाई माध्यमबाट उद्धारलाई निरन्तरता दिइएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि तीनै सुरक्षा निकायलाई उद्धार तथा राहतमा परिचालन गरिएको हो। जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, घाइतेको उपचार गर्ने तथा आवश्यक राहत र उद्धार सामग्री प्रभावित क्षेत्रमा पुर्याउने कामसमेत भइरहेको छ।