काठमाडौँ– तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच जिल्लाका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले बुधबार विशेष सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका बस्तीमा जोखिमलाई ध्यानमा राखी सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।
बाढीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी किनारमा बसोबास गर्ने परिवारलाई विशेष सावधानी अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण हुन प्राधिकरणले आग्रह गरेको छ।
यसैबीच, सम्भावित जोखिमका कारण प्राधिकरणले तीन प्रमुख सडकखण्डमा यात्रा नगर्नसमेत अनुरोध गरेको छ। पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक र मुग्लिन–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको हो।
जोखिमको अवस्था हेरेर स्थानीय तह र प्रशासनलाई ती सडकखण्डमा पूर्ण रूपमा आवागमन रोक्नसमेत प्राधिकरणले अनुरोध गरेको छ। गृहमन्त्री सुधन गुरुङले पनि सम्भावित क्षति न्यूनीकरणका लागि ती सडकमा आवतजावत पूर्ण रूपमा रोक्न आग्रह गरेका छन्।
प्राधिकरणले खोज, उद्धार तथा अन्य सहायता आवश्यक परे सरकारले उपलब्ध गराएका आपत्कालीन सम्पर्क नम्बरमा सम्पर्क गर्न भनेको छ। साथै, विपद्को अवस्थामा खोज तथा उद्धार, राहत र आवश्यक सहयोगका लागि सम्बन्धित सबै निकायलाई समन्वय र सहजीकरण गर्न अपिल गरेको छ।