रसुवा– चीनतर्फबाट आएको भीषण बाढीका कारण रसुवाको उत्तरी क्षेत्रमा भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव एक्कासि बढ्दा ठूलो क्षति भएको आशंका गरिएको छ। बुधबार बिहान करिब साढे ८ बजे आएको बाढीले तिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा असर पारेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बाढीको बहाव अत्यन्त तीव्र रहेकाले प्रभावित क्षेत्रमा तत्काल पुगेर क्षतिको विवरण संकलन गर्न कठिनाइ भएको छ। घटनास्थलमा खटिएका एक सरकारी अधिकारीका अनुसार तल्लो क्षेत्रमा पुग्ने अवस्था नरहेकाले मानवीय तथा भौतिक क्षतिको यकिन विवरण आउन सकेको छैन।
“बाढी एकदमै हिंस्रक छ। हामी ज्यान जोगाएर माथितिर भागेका छौँ। तलको अवस्था निकै नाजुक छ। माथिबाट समेत केही स्पष्ट देखिएको छैन,” ती अधिकारीले बताए।
प्रारम्भिक दृश्यका आधारमा तिमुरे बजार क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको अनुमान गरिएको छ। बाढी सडकसम्मै पुगेपछि बजार तथा आसपासका संरचनामा के–कति क्षति भयो भन्ने यकिन गर्नसमेत कठिन भएको छ।
यस्तै, रसुवा भन्सार कार्यालय तथा त्यस आसपासको क्षेत्रको अवस्थाबारे पनि अहिलेसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। भोटेकोशीको किनार हुँदै बाढी सडकसम्म पुगेकाले भन्सार क्षेत्रसम्म पुगेर अवस्था निरीक्षण गर्न नसकिएको अधिकारीले बताएका छन्।
“भन्सारको अवस्था पनि माथिबाट देखिएको छैन। खोलाको किनार हुँदै सडकसम्म बाढी आएको छ। तलको अवस्था झन् गम्भीर हुन सक्ने देखिन्छ,” अधिकारीले भने।
बाढीको तीव्र बहाव र जोखिमका कारण प्रभावित क्षेत्रमा उद्धार टोलीसमेत तत्काल पुग्न कठिनाइ भइरहेको बताइएको छ। घटनास्थलको अवस्थाबारे प्रत्यक्ष तस्बिर तथा भिडियोसमेत संकलन गर्न नसकिएको अधिकारीहरूको भनाइ छ।
स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायले सम्भावित क्षतिको विवरण संकलन तथा उद्धारका लागि आवश्यक तयारी गरिरहेका छन्। तर नदीको बहाव निरन्तर तीव्र रहेकाले तत्कालै प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न चुनौती देखिएको छ।
बाढीबाट कति मानिस प्रभावित भए, मानवीय क्षति कति भयो र कति भौतिक संरचना क्षतिग्रस्त भए भन्ने विवरण भने अझै सार्वजनिक हुन सकेको छैन।