‘सफलता केवल प्रेरणाले होइन, सही सोच र निरन्तर कर्मले मिल्छ’: रमण भट्टराई - Chaitanya News
  • 2026-08-19
  • 16:36:41
  • बुधबार,भाद्र ०३, २०८३
  • ‘सफलता केवल प्रेरणाले होइन, सही सोच र निरन्तर कर्मले मिल्छ’: रमण भट्टराई

    ‘सफलता केवल प्रेरणाले होइन, सही सोच र निरन्तर कर्मले मिल्छ’: रमण भट्टराई

    चैतन्य खबरले नेपालका चर्चित प्रेरणादायी वक्ता, नेतृत्व प्रशिक्षक तथा आध्यात्मिक मार्गदर्शक रमण भट्टराईसँग जीवन, सफलता, अनुशासन, आत्मचेतना र सकारात्मक सोचका विविध पक्षमा गहन ‘चैतन्य संवाद’ गरेको छ। संवादका क्रममा उहाँले जन्मदेखि जीवनको उद्देश्यसम्म, गुनासोबाट कृतज्ञतातर्फको यात्रा र युवामा बढ्दो निराशालाई सकारात्मक ऊर्जामा बदल्ने उपायबारे आफ्ना अनुभव र दृष्टिकोण साझा गर्नुभएको छ। उहाँका अनुसार सफलता केवल प्रेरणाबाट होइन, सही सोच, अनुशासन, एकाग्रता र निरन्तर कर्मबाट प्राप्त हुन्छ। राजयोग ध्यान, सकारात्मक सोच, असफलताबाट सिक्ने कला, तनाव, चिन्ता, डर र अत्यधिक सोचाइ व्यवस्थापन, अभिभावकको भूमिका तथा सकारात्मक सम्बन्ध निर्माणजस्ता विषयमा पनि उहाँले व्यवहारिक सुझाव दिनुभएको छ। प्रस्तुत छ देशमै सम्भावना खोज्न, आफूभित्रको शक्ति पहिचान गर्न र जीवनलाई कृतज्ञता, खुसी तथा उद्देश्यपूर्ण कर्मसँग जोड्नुपर्ने उहाँको धारणासहितको चैतन्य खबरसँगको विशेष संवाद ।

    १– आफ्नो जन्मलाई कसरी सिद्ध गर्न सकिन्छ ?

    मेरो जन्म ओखलढुङ्गाको खनियाखर्क गाउँमा भएको हो। सानो उमेरमा जीवनका बारेमा धेरै कुरा थाहा हुँदैनथ्यो। त्यो समय पूर्ण रूपमा आनन्द, खुसी, प्रेम र कुनै पनि विभेदरहित थियो। रुखबिरुवा, साना जनावरदेखि मानिससम्म कसैलाई पनि धनी–गरिब वा सानो–ठूलो भनेर विभेद गरिँदैनथ्यो। सबैप्रति समान प्रेम र आत्मीयता थियो। मेरो जीवनको १२ वर्ष त्यही गाउँमा बित्यो। अहिले फर्किएर हेर्दा त्यो समय अत्यन्तै आनन्दमय र सुन्दर लाग्छ।

    पछिल्ला वर्षहरूमा हामीले ‘गाउँमा जन्मियो, मध्यम परिवारमा जन्मियो, धेरै संघर्ष गर्नुपर्‍यो’ भन्दै गुनासोमा पनि धेरै समय बितायौँ। तर जीवनमा गुनासो कम गर्दै सकारात्मक सोचलाई आत्मसात् गर्न थालियो भने मन, बुद्धि र आत्मा सकारात्मक ऊर्जाले भरिँदै जान्छ। हामी जहाँ जन्मिएका छौँ, जुन परिवार, थर, गाउँ र सामाजिक परिवेशमा हुर्किएका छौँ, त्यसलाई स्वीकार गर्नु नै जीवनको पहिलो खुसी हो।

    मानिसहरूले स्कुलकै समयमा छात्रवृत्ति पाएर वा विभिन्न भ्रमणमार्फत अध्ययन गर्ने अवसर पाउँछन्। मैले पनि सिन्धुपाल्चोक, खनियाखर्क हुँदै नेदरल्याण्डको ‘मास्ट्रिक्ट स्कुल अफ म्यानेजमेन्ट’सम्म पुगेर अध्ययन तथा प्रशिक्षण लिने अवसर पाएँ। जीवनमा बुबासँग हिँडेर जहाज हेर्न गएको दिनदेखि ३८ हजार फिटमाथिबाट आधा संसार उज्यालो र आधा अँध्यारो देखिने आकाश हुँदै दुबईबाट युरोप उडेको क्षणसम्म सम्झिँदा, जीवनले मलाई कति सुन्दर अवसरहरू प्रदान गरेको रहेछ भन्ने महसुस हुन्छ।

    त्यसैले हामी जहाँ जन्मिएका छौँ, जहाँ हुर्किएका छौँ र जसले हामीलाई पढाउन, हुर्काउन तथा जीवन बुझाउन योगदान गरेका छन्, उहाँहरूसँगको सम्बन्ध र जीवनलाई आनन्दमय बनाउन गुनासोभन्दा कृतज्ञतालाई प्राथमिकता दिनुपर्छ। जीवनमा पाएका अवसर, सम्बन्ध र प्रकृतिका सुन्दर वरदानलाई आत्मसात् गर्न सक्यौँ भने मात्रै हाम्रो जन्म र जीवन दुवै सार्थक हुन्छ।

    २– धेरै नेपाली युवामा ‘यो देशमा भविष्य छैन, सरकार, राजनीति, शासन–प्रशासन र अर्थतन्त्र ठीक छैन, अब विदेशिनुपर्छ’ भन्ने निराशा बढ्दो छ। विदेशिने प्रवृत्ति पनि बढेको छ। यस्तो निराशालाई चिरेर जीवनभित्रैबाट नयाँ ऊर्जा सिर्जना गर्न कुन तत्वले काम गर्छ ?

    हामीले यसअघि विभिन्न सामाजिक संस्था, लायन्स क्लब र लियो क्लबमा बसेर काम गर्दा एउटा कुरा सिक्यौँ—भागेर देश बन्दैन र मागेर जीवन चल्दैन। यो जीवनको खेल के हो भने संसारमा जन्मेका प्रत्येक व्यक्तिलाई भगवान् वा प्रकृतिले कुनै कमी गरेर पठाएको छैन। मलाई रअरुलाई पनि प्रकृतिले आवश्यक सबै कुरा दिएको छ। त्यसैले पहिलो कुरा हामीले आभार व्यक्त गर्नुपर्छ।

    हामीलाई दिने शक्तिले कुनै कमी, कन्जुस्याइँ वा भेदभाव गरेको छैन। कमी त हामी आफैँले माग्ने ठाउँमा माग्न नसक्दा र सधैँ माग्ने बानी बसाल्दा भएको हो। हामी संसारमा केवल लिनका लागि होइन, दिनका लागि आएका हौँ। दिनेवालाले हामीलाई प्रचुर मात्रामा दिएर पठाएको छ। हाम्रो देश पनि सनातन, देवी–देवताको दैवीय भूमि हो। त्यसैले हामीसँग जे छ, त्यसलाई पहिचान गरेर अरूलाई पनि दिन सक्नुपर्छ।

    कम्तीमा हामी जीवित छौँ, श्वास फेरिरहेका छौँ। विदेश पलायन हुने निर्णय गर्नुअघि हामीसँग के–के छ भनेर हेर्न जरुरी छ।

    हामीले हाम्रो देशको सम्भावना हेर्नुपर्छ। संसारका १४ वटा अग्ला हिमालमध्ये ८ वटा नेपालमै छन्। पानीको पनि हामीसँग ठूलो सम्भावना छ। देशभर ६ हजार २०० भन्दा बढी नदी तथा खोलानाला छन्। तर हामीले आफूभित्रै भएको सम्पदा र सम्भावनालाई पहिचान गर्न सकेका छैनौँ।

    सुरुमा म पनि केही हदसम्म ‘डिस्चार्ज’ भएको थिएँ। तर पछि आफैँलाई नियन्त्रण गर्दै अरूलाई ‘चार्ज’ गर्न थालेँ। जब मैले अरूलाई ऊर्जा र उत्साह दिन थालेँ, तब म आफैँ पनि ‘रिचार्ज’ भएँ। त्यसपछि मात्रै मैले महसुस गरेँ—यो देशमा कति धेरै सम्पदा, सम्भावना र अवसर रहेछन्।

    हाम्रो परिवारका कोही विदेश गएर लाखौँ रुपैयाँ खर्च गरेर अन्ततः शव बनेर फर्किनुपर्ने अवस्था पनि आउँछ। मानिसको मृत्यु जहाँ भए पनि अन्तिम संस्कारका लागि नेपालमै ल्याउने प्रयास गरिन्छ। ल्याउन नसके पनि अस्तु त आफ्नै देशमा ल्याएर सेलाउने गरिन्छ। त्यसैले हामीले आफ्नो देश, आफ्नो जीवन र आफ्नो सम्भावनालाई गहिरोसँग बुझ्नुपर्छ।

    अन्ततः यी सबै कुरा आत्मचेतना सँग जोडिन्छन्। चेतना कहिल्यै मरुभूमि हुँदैन। हामीलाई प्रकृतिले धेरै कुरा दिएर पठाएको छ र हामी पनि केही दिने उद्देश्यले यो संसारमा आएका हौँ। त्यसैले निराश भएर पलायन हुनुभन्दा पहिले आफूभित्रको शक्ति, आफ्नो देशको सम्भावना र आफूसँग भएका स्रोतहरूलाई पहिचान गर्न जरुरी छ। यही आत्मचेतना र कृतज्ञताबाट जीवनमा नयाँ ऊर्जा सिर्जना गर्न सकिन्छ।

    ३– मानिसको चेतना किन विखण्डित हुन्छ, बाटो बिराउँछ वा कर्मबाट विचलित हुन्छ ? मानिसको संस्कार र स्वभाव कसरी निर्माण हुन्छ ? साथै, अहिले मिडियामा सकारात्मक विषयभन्दा नकारात्मकता, घटना र दुर्घटनालाई प्राथमिकता दिने प्रवृत्ति किन बढिरहेको छ ? यसबारे बताइदिनुहोस्।

    यो निकै गम्भीर र रोचक प्रश्न हो। मानिसको चेतना र संस्कार निर्माण हुने प्रक्रिया बाल्यकालदेखि नै सुरु हुन्छ। करिब छ–सात वर्षको उमेरसम्म बालबालिकाले नयाँ कुरा बुझ्ने र त्यसलाई आफ्नै ढंगले विश्लेषण गर्ने क्षमता पूर्ण रूपमा विकास गरिसकेका हुँदैनन्। त्यसैले सुरुवाती उमेरमा उनीहरूले परिवार र वरपरको वातावरणबाट जे सिक्छन्, त्यसले उनीहरूको चेतना र स्वभाव निर्माणमा ठूलो प्रभाव पार्छ।

    संस्कार निर्माणका केही महत्वपूर्ण आधारहरू छन्। पहिलो कुरा, आत्मा कहिल्यै मर्दैन। आत्मा अजस्र र अविनाशी हुन्छ। जसरी हामीसँग बैंक खातामा जम्मा भएको रकम आवश्यक पर्दा जहाँसुकै प्रयोग गर्न सक्छौँ, त्यसैगरी पूर्वजन्ममा सञ्चित गरेका पुण्य कर्मको प्रभाव पनि यो जीवनमा निरन्तर देखिन सक्छ भन्ने हाम्रो आध्यात्मिक मान्यता छ। यदि हिजोसम्म पुण्यको खातामा केही जम्मा गरिएको थिएन भने आजैदेखि राम्रो कर्म गर्न सुरु गर्नुपर्छ। प्रत्येक मानिसले कुनै न कुनै रूपमा अघिल्लो कर्मको फल बोकेर आएको हुन्छ भन्ने मान्यता छ।

    दोस्रो महत्वपूर्ण कुरा भनेको गर्भावस्था र पारिवारिक वातावरणको प्रभाव हो। बच्चा आमाको गर्भमा रहँदादेखि नै आमाबुबा र नजिकका अभिभावकहरूको सोच, व्यवहार र वातावरणबाट प्रभावित हुन्छ। उनीहरूको ‘भाइब्रेसन’ अर्थात् मानसिक तथा भावनात्मक ऊर्जाले बच्चाको मन र बुद्धिमा गहिरो प्रभाव पार्न सक्छ।

    यस सन्दर्भमा अष्टावक्र महाराजको प्रसंग पनि जोडिन्छ। बाहिरी रूपमा मानिसको रूप, रङ र शारीरिक बनावट फरक भए पनि ज्ञान, चेतना र आत्माको मूल स्वरूप एउटै हुन्छ भन्ने सन्देश यसबाट लिन सकिन्छ।

    बच्चा जन्मिएपछि सुरुका केही वर्ष आमाबुबा र परिवारकै नजिक हुन्छ। त्यसैले परिवारको व्यवहार, सोच, संस्कार र वातावरणबाट ऊ प्रत्यक्ष रूपमा प्रभावित हुन्छ। त्यसपछि बच्चा स्कुल र कलेज जान थाल्छ। त्यहाँ शिक्षक, साथीभाइ र वरपरको सामाजिक वातावरणबाट उसले धेरै कुरा सिक्छ। यस क्रममा राम्रा कुरासँगै फेसन, बेसन र टेन्सनजस्ता विभिन्न प्रभाव पनि जीवनमा प्रवेश गर्न सक्छन्।

    सानो उमेरमा अभिभावकले पर्याप्त साथ र मार्गदर्शन नदिँदा कतिपय बालबालिकाले त्यसलाई आफ्नो कमजोरीका रूपमा लिन सक्छन्। तर मानिस ठूलो हुँदै गएपछि आफ्नो जीवन, बानी र कर्मप्रति आफैँ जिम्मेवार बन्नुपर्छ। आफूलाई राम्रो बाटोमा डोर्याउने र गलत बानी सुधार्ने जिम्मेवारी अन्ततः आफ्नै हुन्छ।

    त्यसैले बालबालिका, साथीभाइ वा युवालाई जानाजान वा अन्जानमा ‘अपराधी’ भनेर चिनाउनु भन्दा उनीहरूलाई सही बाटो देखाउनु आवश्यक छ। सुधार र सकारात्मक परिवर्तनका लागि दृढ संकल्प, अनुशासन र एकाग्रता चाहिन्छ। त्यसका लागि कम्तीमा २१ दिन, एक महिना वा तीन महिनासम्म निरन्तर साधना, अभ्यास वा कुनै सकारात्मक संकल्पमा प्रतिबद्ध भएर अघि बढ्न सकिन्छ।

    जीवनका जटिल समस्या र गलत संस्कारलाई परिवर्तन गर्न तत्कालै सबै कुरा बदलिँदैन। तर दृढ संकल्प, निरन्तर अभ्यास र एकाग्रता कायम राख्न सकियो भने मानिस आफ्नो चेतना, बानी र कर्मलाई क्रमशः सही दिशामा लैजान सक्छ।

    ४– धेरै युवाहरू प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका छन्। कोही निश्चित डिग्री हासिल गर्न चाहन्छन्, कोही लोकसेवा पास गर्न चाहन्छन्, कोही व्यवसायमा सफलता हासिल गर्न चाहन्छन् भने कोही समाजमा स्थापित भएर आफ्ना सपना साकार पार्न चाहन्छन्। यी सपना पूरा गर्न उनीहरू निरन्तर संघर्ष गरिरहेका छन्। त्यसैले सफलताको सूत्र, रहस्य र मार्ग के होरु सफलता कसरी हासिल गर्न सकिन्छ ?

    सफलताको पहिलो सूत्र भनेको गुनासो गर्न छोड्नु हो। गुनासो मानिसको सबैभन्दा ठूलो नकारात्मकता हो। यसले मानिसलाई अगाडि बढ्नबाट रोक्छ। हाम्रो मन र संस्कार पनि यस्तो बनेको छ कि सकारात्मक कुरा ग्रहण गर्न हामी समय लगाउँछौँ, तर नकारात्मक कुरा भने तुरुन्तै ग्रहण गर्छौँ। नराम्रो कुरा देख्ने, सुन्ने र त्यसलाई व्यक्त गरिहाल्ने बानी हामीमा छ।

    त्यसैले सफल र सकारात्मक जीवनका लागि आफ्नो चेतना र अवचेतन मनलाई ‘चार्ज’ गर्न आवश्यक छ। जब चेतना कमजोर हुन्छ, मन र बुद्धि पनि कमजोर हुन्छन्। त्यसपछि मानिस गुनासो गर्न थाल्छ, असफलताको कारण खोज्छ, अरूको कमजोरी र अवगुण हेर्न थाल्छ।

    यसबाट बाहिर निस्कन पहिलो सूत्र हो—एप्रिसिएसन अर्थात् कृतज्ञता र प्रशंसा। गुनासो छोडेर आफूले पाएका अवसर, मानिस र परिस्थितिप्रति कृतज्ञ हुन सिक्नुपर्छ। उदाहरणका लागि, म आज हज्रसँग कुरा गर्न पाएकोमा हजुरप्रति कृतज्ञ छु। यति धेरै मानिसका बीचमा आफ्ना विचार राख्ने अवसर पाउनु आफैँमा एउटा ठूलो उपलब्धि हो।

    दोस्रो महत्वपूर्ण सूत्र हो—ब्रीदिङ अर्थात् सासप्रश्वास। मानिसले पाएको महत्वपूर्ण उपहारमध्ये सासप्रश्वास पनि एक हो। सासप्रश्वासमा समस्या आएपछि मानिस बिरामी पर्न सक्छ, अस्पतालसम्म पुग्नुपर्ने अवस्था आउन सक्छ। हाम्रो सासप्रश्वासमा बाह्य कारणले मात्र होइन, हाम्रो सोच र मानसिक अवस्थाले पनि प्रभाव पार्न सक्छ। कमजोर र नकारात्मक विचारले हाम्रो शारीरिक तथा मानसिक अवस्थालाई असर गर्न सक्छ।

    त्यसपछि आउँछ सबैभन्दा ठूलो उपहार—विचार। मानिस र अन्य प्राणीबीचको एउटा महत्वपूर्ण भिन्नता नै विचार गर्ने क्षमता हो। मानिसले सोच्न सक्छ, अनुभूति गर्न सक्छ, आफ्ना भावनालाई विभिन्न माध्यमबाट व्यक्त गर्न सक्छ। त्यसैले मानव जीवनको सबैभन्दा ठूलो शक्ति विचार हो।

    तर समस्या के छ भने मानिसले आफ्नो विचारलाई सही ढंगले प्रयोग गर्न जानेको छैन। विचार कसरी निर्माण गर्ने, त्यसलाई कसरी सकारात्मक दिशामा प्रयोग गर्ने, विचारलाई कर्ममा कसरी रूपान्तरण गर्ने र त्यही विचारबाट सफलतातर्फ कसरी अघि बढ्ने भन्ने कुरा सिक्न आवश्यक छ।

    मानिसको जीवनमा हुने धेरै परिवर्तनको सुरुवात विचारबाटै हुन्छ। त्यसैले आफ्नो विचारलाई सही दिशामा लगाउन सक्नुपर्छ। सकारात्मक विचारले मानिसलाई सफलतातर्फ लैजान सक्छ भने नकारात्मक विचारले कमजोर बनाउन सक्छ।

    अन्ततः विचार र जीवनशैली परिवर्तन गर्ने एउटा महत्वपूर्ण उपाय भनेको गुनासोको ठाउँमा कृतज्ञता ल्याउनु हो। ‘किन यस्तो भयोरु’ भनेर गुनासो गर्नुभन्दा ‘यो परिस्थितिले मलाई के सिकायोरु’ भनेर सोच्नुपर्छ। ‘मसँग यो छैन’ भन्नुभन्दा ‘मसँग जे छ, त्यसका लागि धन्यवाद’ भन्ने भाव विकास गर्नुपर्छ।

    जब मानिसले धन्यवाद र आभार व्यक्त गर्न थाल्छ, उसको सोच परिवर्तन हुँदै जान्छ। त्यसपछि उसले सकारात्मक विचार भएका मानिसहरूलाई आफ्नो जीवनमा आकर्षित गर्न थाल्छ। सकारात्मक सोच संसारकै शक्तिशाली चुम्बकजस्तै हो। जसरी चुम्बकले आफूभन्दा धेरै गुणा ठूलो फलामलाई पनि तान्न सक्छ, त्यसरी नै सकारात्मक सोच र ऊर्जाले जीवनमा सकारात्मक मानिस, अवसर र सम्भावनालाई आकर्षित गर्न सक्छ।

    त्यसैले युवाहरूले आफू वरिपरिको संगतमा पनि ध्यान दिनुपर्छ। नेपालमै ज्ञान, धन, कला, व्यवसाय र आध्यात्मिकताको क्षेत्रमा उत्कृष्ट काम गरेका धेरै मानिसहरू छन्। त्यस्ता सकारात्मक र सिर्जनशील व्यक्तिहरूसँग कसरी संगत गर्ने, उनीहरूबाट कसरी सिक्ने र आफ्नो जीवनमा त्यसलाई कसरी लागू गर्ने भन्ने कुराले सफलतामा ठूलो अर्थ राख्छ।

    अन्ततः सफलताको यात्रा बाहिरबाट होइन, आफ्नै विचार, चेतना र व्यवहारबाट सुरु हुन्छ। गुनासो छोड्ने, कृतज्ञ हुने, आफ्नो सासप्रश्वास र मानसिक अवस्थाप्रति सचेत हुने, विचारलाई सकारात्मक बनाउने र सही संगत रोज्ने हो भने युवाहरू आफ्ना लक्ष्यतर्फ अझ प्रभावकारी रूपमा अघि बढ्न सक्छन्।

    ५– सफलता र खुशीबीच कसरी तादात्म्यता मिलाउने र त्यसलाई कसरी दिगो बनाउन सकिन्छ ? समाजमा सफल देखिएका धेरै मानिसहरू आफू पनि खुसी हुन नसकेको र अरूलाई पनि खुसी दिन नसकेको देखिन्छ। बाहिरबाट उनीहरू सफलताको सूचकमा देखिए पनि भित्रबाट भने सन्तुष्ट र खुसी हुँदैनन्। यस विषयमा के भन्नुहुन्छ ?

    हामीले समाजमा सफल र राम्रा गाडी भएका दुई जना व्यक्तिहरू आपसमा कुराकानी गरिरहेको सुन्दा उनीहरूले एक–अर्कालाई ‘तँ हँसिलो देखिन्छस, तर खुसी छैनस्’ भनेको पनि सुन्न सक्छौँ। बाहिरबाट हेर्दा मानिस खुसी र सफल देखिए पनि उसको जीवनमा कतै न कतै ऋण जोडिएको हुन सक्छ। त्यसैले सफलता र धनसँगै ऋण पनि जोडिएको अवस्थामा धनलाई सकारात्मक र ऋणलाई नकारात्मक पक्षका रूपमा हेर्न सकिन्छ।

    धनको कुरा गर्दा हामीले ‘विद्या धनं सर्वधनं प्रधानम्’ भन्ने कुरा पनि बुझ्नुपर्छ। स्कुल र कलेजमा पढेको कुरा शिक्षा हो, तर शिक्षा मात्रै सम्पूर्ण ज्ञान होइन। जीवनमा आवश्यक ज्ञान प्राप्त गर्न हामीले औपचारिक शिक्षाभन्दा बाहिर गएर पनि निरन्तर सिक्नुपर्छ।

    जसरी मोबाइललाई नियमित चार्ज गर्नुपर्छ, त्यसरी नै मानिस पनि आफैँलाई निरन्तर ‘रिचार्ज’ गरिरहनुपर्ने प्राणी हो। आफ्नो मन, विचार र चेतनालाई सकारात्मक ऊर्जाले भरिरहनुपर्छ।

    खुसी हुन जान्ने मानिस सफल हुन्छ र सफलता हासिल गरेपछि पनि निरन्तर आनन्दित रहन सक्छ। तर भित्रैदेखि दुःखी रहेको मानिस कुनै क्षेत्रमा सफल भए पनि उसको मनमा दुःख कायमै रहन सक्छ। त्यसैले सफलता र खुशीलाई अलग–अलग होइन, सँगसँगै हेर्नुपर्छ।

    नेपालमा विभिन्न क्षेत्रमा सफल व्यक्तिहरू छन्—गुरुहरू, धन भएका व्यक्तिहरू, ज्ञान भएका व्यक्तिहरू, गायक, कलाकार, अभिनेता तथा खेलाडीहरू। उनीहरूले अवार्ड पाएका हुन सक्छन्, बाहिरबाट निकै सफल देखिन सक्छन्। तर यदि उनीहरूको जीवनमा अत्यधिक ऋण, तनाव वा असन्तुष्टि छ भने त्यो सफलताको वास्तविक अर्थ के हो भन्ने प्रश्न उठ्छ।

    त्यसैले मानिसले कम्तीमा आफूबारे आधारभूत ज्ञान लिन आवश्यक छ। हामी कहाँबाट आएका हौँ, हाम्रो जीवनको उद्देश्य के हो र अन्ततः शरीर छोडेर कहाँ जानुपर्छ भन्ने कुरा बुझ्नु पनि जीवनको महत्वपूर्ण ज्ञान हो। हाम्रो संस्कार र शास्त्रीय परम्परामा जीवनको अन्तिम क्षणमा पानी खुवाउने चलनलाई पनि ज्ञान, चेतना र प्रेरणाको प्रतीकका रूपमा बुझ्न सकिन्छ।

    त्यसकारण मानिस जीवित र सचेत हुँदै जीवनको ज्ञान लिनुपर्छ। जब मानिसले आफूलाई बुझ्न थाल्छ, त्यसबाट सकारात्मक सोचको विकास हुन्छ। सकारात्मक सोचले खुशी जन्माउँछ र खुशीले सफलतालाई अझ अर्थपूर्ण बनाउँछ।

    हामीले ‘आनन्दित भएर आफ्नो कर्म गरौँ’ भन्ने भावनाका साथ जीवन अघि बढाउनुपर्छ। सधैँ गुनासो गरिरहनु आवश्यक छैन। मानिसको मुस्कानमा कुनै सीमा हुँदैन। मुस्कान र खुशी हाम्रो जन्मसिद्ध अधिकारजस्तै हुन्।

    त्यसैले सकेसम्म खुसी रहनुपर्छ, आनन्दमा रहनुपर्छ र आफूले पाएको जिम्मेवारी तथा कर्म इमानदारीपूर्वक पूरा गर्नुपर्छ। केवल ठुस्किएर बस्नु वा असफलताको दोष अरूलाई दिनु समाधान होइन। आफ्नो जिम्मेवारी पूरा नगर्नु नै वास्तविक असफलताको एउटा कारण हो।

    अन्ततः सफलता भनेको केवल धन, गाडी, पद वा अवार्ड प्राप्त गर्नु होइन। सफलता त्यतिबेला सार्थक हुन्छ, जब त्यससँग खुशी, आनन्द, ज्ञान, सन्तुष्टि र सकारात्मक जीवन पनि जोडिन्छ। त्यसैले सफल हुँदै गर्दा खुसी हुन र खुसी हुँदै गर्दा आफ्नो कर्ममा सफल हुन सिक्नुपर्छ।

    ६– अन्त्यमा नेपालको मौलिक पहिचान, वैदिक सनातन संस्कार, सद्भाव, प्रेम र ‘वसुधैव कुटुम्बकम्’को भावना कमजोर हुँदै समाज विभाजन र नकारात्मकतातर्फ किन गइरहेको छरु यसको मुख्य कारण के हो र हामी यसलाई कसरी सुधार्न सक्छौँ ?

    तपाईंले उठाउनुभएको विषय निकै गहिरो र महत्त्वपूर्ण छ। आज हाम्रो समाजमा नकारात्मकता फैलाउने र गलत काम गर्ने मानिसहरूले बढी स्थान पाइरहेका छन् भने राम्रा र असल व्यक्तिहरूको सकारात्मक योगदान ओझेलमा परेको देखिन्छ। अहिले नकारात्मकता उच्च बिन्दुमा पुगेको अवस्था जस्तो देखिए पनि यसको एउटा प्रमुख कारण हामी आफैँले सकारात्मक मानिस र सकारात्मक विचारलाई पर्याप्त प्राथमिकता नदिनु हो।

    हामीले सकारात्मक मानिसहरूको मुखबाट सकारात्मक कुरा कम सुन्यौँ, तर नकारात्मकता फैलाउने मानिसहरूको पछि बढी दौडियौँ। त्यसैले अब सबैभन्दा पहिले नकारात्मकतालाई स्थान दिन बन्द गर्नुपर्छ। हाम्रो ध्यान र एकाग्रता सकारात्मकता, प्रगति र सही व्यवस्थापनतर्फ केन्द्रित हुनुपर्छ।

    संसारमा सफल र असल मानिसहरूलाई हेर्ने हो भने उनीहरूमध्ये धेरैले बाल्यकालमा आफ्ना आमाबुबाबाट निःस्वार्थ प्रेम र राम्रो संस्कार पाएका हुन्छन्। परिवारको वातावरणले मानिसको चेतना र चरित्र निर्माणमा ठूलो भूमिका खेल्छ। अर्कोतर्फ, बाल्यकालमा अभिभावकको पर्याप्त समय, माया र हेरचाह नपाएका वा पारिवारिक विवादमा हुर्किएका बालबालिका गलत गतिविधितर्फ आकर्षित हुने सम्भावना पनि रहन्छ।

    त्यसैले समाज सुधारको सुरुवात परिवार र बालबालिकाबाटै गर्नुपर्छ। हामीले असल मानिसहरू, वैज्ञानिक, साहित्यकार, कलाकार, समाजसेवी तथा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको उदाहरण नयाँ पुस्तासामु प्रस्तुत गर्नुपर्छ। उनीहरूको जीवन र विचारबाट सकारात्मक प्रेरणा लिनुपर्छ।

    हामीले समाजमा मुस्कान, आनन्द, खुसी, सद्भाव र आत्मीयता बाँड्ने संस्कृतिको विकास गर्न आवश्यक छ। चरित्रहीन वा नकारात्मक टिप्पणी गर्ने मानिसहरूको पछि लागेर समय खेर फाल्नुको सट्टा आफू सकारात्मक र ऊर्जावान् बन्नुपर्छ र अरूलाई पनि सकारात्मक बन्न प्रेरित गर्नुपर्छ।

    तर गल्ती गर्ने मानिसलाई पनि सधैँ बहिष्कार गर्नु समाधान होइन। उसलाई सुध्रिने अवसर र सकारात्मक विचार दिनुपर्छ। चाहे राजनीति होस् वा सामाजिक जीवन, हरेक व्यक्तिलाई सकारात्मक बाटोमा ल्याउने प्रयास गर्न सकियो भने मात्रै समाज सही दिशामा अघि बढ्न सक्छ।

    अन्ततः समाज परिवर्तनको सुरुवात अरूबाट होइन, आफैँबाट गर्नुपर्छ। नकारात्मकतालाई होइन, सकारात्मकता र असल कर्मलाई प्राथमिकता दिने संस्कार विकास भयो भने हाम्रो मौलिक आत्मीयता, सद्भाव र सहिष्णुता पुनः बलियो बनाउन सकिन्छ।