३६ सामुदायिक विद्यालयका प्रधानाध्यापकका लागि काठमाडौँ महानगरले माग्यो दरखास्त - Chaitanya News
  • 2026-08-18
  • 09:49:13
  • मंगलबार,भाद्र ०२, २०८३
  • ३६ सामुदायिक विद्यालयका प्रधानाध्यापकका लागि काठमाडौँ महानगरले माग्यो दरखास्त

    ३६ सामुदायिक विद्यालयका प्रधानाध्यापकका लागि काठमाडौँ महानगरले माग्यो दरखास्त

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगरअन्तर्गत सञ्चालित ३६ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक (प्रअ) पदका लागि दरखास्त आह्वान गरेको छ।

    महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै २२ वटा माध्यमिक र १४ वटा आधारभूत विद्यालयमा रिक्त रहेका तथा पदावधि सकिन लागेका प्रधानाध्यापक पदमा पदपूर्तिका लागि आवेदन माग गरेको हो।

    महानगरपालिकाका अनुसार शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ को उपनियम (२०) तथा महानगरपालिकाको निर्णयअनुसार तोकिएको योग्यता पुगेका स्थायी शिक्षकहरूले प्रधानाध्यापक पदका लागि दरखास्त दिन सक्नेछन्।

    महानगरपालिकाले सम्बन्धित विद्यालयका लागि तोकिएको योग्यता तथा मापदण्ड पूरा गरेका इच्छुक स्थायी शिक्षकलाई निर्धारित प्रक्रियाअनुसार आवेदन दिन आग्रह गरेको छ।

    प्रधानाध्यापक नियुक्तिको प्रक्रियामार्फत सामुदायिक विद्यालयको शैक्षिक नेतृत्व, व्यवस्थापन तथा शिक्षण–सिकाइको गुणस्तर सुधार गर्ने महानगरपालिकाको उद्देश्य रहेको छ।