सरकारले तोक्यो संवैधानिक पदाधिकारीको नयाँ तलबमान, प्रधानन्यायाधीशको १ लाख १२ हजार - Chaitanya News
  • 2026-08-14
  • 17:14:23
  • शुक्रबार,साउन २९, २०८३
  • सरकारले तोक्यो संवैधानिक पदाधिकारीको नयाँ तलबमान, प्रधानन्यायाधीशको १ लाख १२ हजार

    सरकारले तोक्यो संवैधानिक पदाधिकारीको नयाँ तलबमान, प्रधानन्यायाधीशको १ लाख १२ हजार

    काठमाडौँ– सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीको नयाँ तलबमान निर्धारण गरेको छ। अर्थ मन्त्रालयले ६ साउनमा राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ तलबमान तोकेको हो। नयाँ तलबमान २०८३ साउन १ गतेदेखि लागू हुनेछ।

    नयाँ तलबमानअनुसार प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ पुगेको छ। सर्वोच्च अदालतका न्यायाधीशले मासिक ९३ हजार ५४७ रुपैयाँ तलब पाउनेछन्।

    न्यायपरिषद्का सदस्य र महान्यायाधिवक्ताको तलबसमेत सर्वोच्च अदालतका न्यायाधीशसरह ९३ हजार ५४७ रुपैयाँ निर्धारण गरिएको छ।

    प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त ‘प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७४’ अनुसार निर्धारण हुँदै आएको छ।

    प्रधानन्यायाधीशका लागि बालुवाटारमा सरकारी निवासको व्यवस्था छ। सर्वोच्च अदालतका अन्य न्यायाधीश पुल्चोकस्थित सरकारी क्वार्टरमा बस्दै आएका छन्। सरकारी निवासको सुविधा नपाउने न्यायाधीशले एकमुष्ट निवास भत्ता पाउने व्यवस्था छ।

    यसैगरी न्यायाधीशहरूले विद्युत्, खानेपानी तथा टेलिफोन, सवारी तथा इन्धन, दैनिक तथा भ्रमण खर्च, लुगा भत्ता लगायतका सुविधा पाउनेछन्। उच्च तथा जिल्ला अदालतका न्यायाधीशलाई पनि यस्तै शीर्षकमा सुविधा उपलब्ध हुन्छ, तर रकम भने तहअनुसार फरक हुन्छ।

    नयाँ तलबमानअनुसार उच्च अदालतका मुख्य न्यायाधीशले ९० हजार ६४० रुपैयाँ तथा उच्च अदालतका न्यायाधीशले ८४ हजार ५९० रुपैयाँ मासिक तलब पाउनेछन्। त्यस्तै जिल्ला न्यायाधीशको मासिक तलब ७७ हजार ११० रुपैयाँ निर्धारण गरिएको छ।

    सरकारले संवैधानिक निकायका प्रमुखको तलब सर्वोच्च अदालतका न्यायाधीशसरह ९३ हजार ५४७ रुपैयाँ तोकेको छ। संवैधानिक निकायका अन्य पदाधिकारीले भने मासिक ८५ हजार ४२६ रुपैयाँ तलब पाउनेछन्।

    संघीय संसदतर्फ महासचिवको मासिक तलब ८४ हजार ९३२ रुपैयाँ निर्धारण गरिएको छ। संघीय संसदका सचिवले अब ७९ हजार २९० रुपैयाँ मासिक तलब पाउनेछन्।

    सरकारले नयाँ तलबमानसँगै न्यायपालिका, संवैधानिक निकाय र संघीय संसदका उच्च पदाधिकारीको पारिश्रमिक संरचनालाई अद्यावधिक गरेको हो।