दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने, सेवा प्रवाह सहज भएको सरकारको दाबी - Chaitanya News
  • 2026-08-13
  • 16:41:15
  • बिहिबार,साउन २८, २०८३
  • दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने, सेवा प्रवाह सहज भएको सरकारको दाबी

    दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने, सेवा प्रवाह सहज भएको सरकारको दाबी

    काठमाडौँ–  सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। सरकारले दुई दिने बिदासँगै सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन गर्ने व्यवस्थाले सेवाग्राहीलाई सहज हुनुका साथै कर्मचारीको मनोबल र कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको दाबी गरेको छ।

    बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री वालेन्द्र साहका तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कार्यालय सञ्चालन समय परिवर्तनबाट सार्वजनिक सेवा प्रवाहमा सहजता आएको बताइन्।

    मन्त्री गौतमका अनुसार सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुन थालेपछि सेवाग्राहीले दिनको सुरुवाती समयमै सरकारी निकायबाट सेवा लिन सक्ने अवस्था बनेको छ। यसले नागरिकलाई आफ्नो समय व्यवस्थापन गर्न समेत सहज भएको सरकारको बुझाइ छ।

    उनले सातामा दुई दिन सार्वजनिक बिदा र कार्यालय समय बिहान ९ बजेदेखि सञ्चालन गर्ने व्यवस्थाले कर्मचारीको कार्य–जीवन सन्तुलन कायम गर्न सहयोग पुगेको बताइन्। यसबाट कर्मचारीको मनोबल बढ्नुका साथै कार्यक्षमता र कार्यसम्पादनमा समेत सकारात्मक प्रभाव परेको उनको दाबी छ।

    सरकारले दुई दिने सार्वजनिक बिदाको व्यवस्थाको प्रभावकारिता विभिन्न पक्षबाट मूल्यांकन भइरहेको जनाएको छ। ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता, आन्तरिक पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारमा समेत यस व्यवस्थाले योगदान पुर्‍याएको सरकारको दाबी छ।

    तर राष्ट्रियसभा सदस्य विष्णुबहादुर विश्वकर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिँदा शिक्षा, व्यापार तथा सरकारी सेवा प्रवाहमा असर परेको भन्दै पुरानै साप्ताहिक एक दिन बिदाको व्यवस्था कायम गर्नुपर्ने धारणा राखेका थिए।

    सरकारले सांसदहरूबाट प्राप्त सुझाव तथा उठाइएका विषयलाई अध्ययनको दायरामा राख्ने जनाएको छ। यद्यपि तत्काल सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था परिवर्तन गर्ने सम्बन्धमा कुनै गृहकार्य अघि नबढाइएको मन्त्री गौतमले स्पष्ट पारिन्।

    सरकारको यो स्पष्टतासँगै दुई दिने सार्वजनिक बिदाको व्यवस्थाबारे तत्काल निर्णय परिवर्तन नहुने देखिएको छ। सरकारले यसको प्रभावलाई निरन्तर मूल्यांकन गर्ने र प्राप्त सुझाव तथा तथ्यका आधारमा आवश्यक निर्णय लिने संकेत भने गरेको छ।