लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-08-12
  • 16:29:23
  • बुधबार,साउन २७, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    कानुनी सचेतनाको महत्व

    १.  कानुनी सचेतना भन्नाले के बुझिन्छ ? यसको महत्व उल्लेख गर्नुहोस् ।

    मुलुकको संविधान, कानुनी व्यवस्था, न्याय प्रणाली, कानुन निर्माण प्रक्रिया तथा नागरिक अधिकार र कर्तव्यबारे आधारभूत तहको जानकारी भएको अवस्थालाई कानुनी सचेतना भनिन्छ । रोम कानुनबाट व्युत्पन्न भएको कानुनको अनविज्ञता क्षम्य हुँदैन भन्ने मान्यतालाई नेपाललगायत अधिकांश मुलुकको न्याय तथा कानुन प्रणालीले आत्मसात् गरेका छन् । यस मान्यता अनुसार कसैले कानुन उल्लङ्घन गरेको अवस्थामा आफूलाई कानुन जानकारी नभएकाले उल्लङ्घन गरेको भनी प्रतिरक्षा गर्न वा उन्मुक्ति पाउन सक्दैन । तसर्थ नागरिक आफ्नो मुलुकको न्याय तथा कानुनी व्यवस्था र कानुन प्रणालीबारे जानकार रहनु पर्छ । यही प्रयोजनका लागि सरकारले नेपाल राजपत्रमा कानुन प्रकाशन गर्ने, विद्युतीय माध्यमबाट कानुनको प्रचारप्रसार गर्ने वा न्यूनतम मूल्यमा उपलब्ध गराएर कानुनको उपलब्धता र पहुँचलाई सहज बनाउने प्रयास गर्दै आएको छ । नेपालको संविधानको प्रस्तावनामा कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्यमान्यतामा आधारित रही समृद्ध राष्ट्र निर्माण गर्ने भन्नेसमेतको व्यवस्था गरिएबाट मुलुकमा विधिको शासनको स्थापना र समृद्ध राष्ट्रनिर्माणका लागि नागरिकमा कानुनी सचेतना तथा साक्षरताको महत्व उच्च रहेको बुझ्न सकिन्छ ।

    कानुन सचेतनाको महत्व : कानुनी सचेतना र साक्षरताको महत्व देहायका बुँदाबाट स्पष्ट हुन सकिन्छ :

    – नागरिकलाई प्राप्त अधिकारको उपभोग गर्न सक्षम बनाउने,

    – नागरिकलाई आफ्नो अधिकार र दायित्वप्रति सचेत बनाउने,

    – नागरिक तहबाट कानुनको पालना भई कानुन कार्यान्वयनमा सहयोग पुग्ने,

    – गैरकानुनी कार्य गर्दा हुन सक्ने दण्ड जरिबाना वा अन्य परिणामबारे जानकारी हुने हुँदा कानुनको उल्लङ्घनमा कमी आउने सक्ने,

    – कानुनको पालनास्तर वृद्धि भई कानुन र व्यवस्था कायम गर्न सहज हुने,

    – सार्वजनिक सरोकारका विषयले प्राथमिकता पाउने,

    – हिंसापीडित, असमर्थ व्यक्ति वा कमजोर वर्गको हकहित संरक्षण गर्न सहयोग पुग्ने,

    – नागरिकलाई न्याय, जवाफदेहिता र कानुनी उपचार माग गर्न सक्षम बनाउने,

    – न्यायमा पहुँच सुनिश्चित गराउन सहयोग पुग्ने,

    – नागरिक सर्वोच्चता कायम हुने,

    – लोकतान्त्रिक पद्धति र सुशासन प्रवर्धनमा टेवा पुग्ने,

    – विधिको शासन स्थापना गर्न सहयोग पुग्ने ।

    – अन्त्यमा, नागरिकलाई मुलुकको संविधान, कानुनी व्यवस्था, न्यायिक प्रक्रिया, आफ्ना अधिकार र कर्तव्यलगायतका विषयमा जानकार गराई कानुनको पालना र न्यायमा पहुँच सुनिश्चित गर्ने महत्वपूर्ण औजारका रूपमा कानुनी सचेतनालाई लिन सकिन्छ । यसले नागरिक सशक्तीकरण, जवाफदेहिता, सुशासन तथा नागरिक सर्वोच्चता प्रवर्धन गर्दै विधिको शासन र लोकतान्त्रिक राज्य व्यवस्थालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउँछ । कानुनी सचेतना तथा साक्षरता अभिवृद्धि गर्न राज्य तथा बाहिरका निकायबाट गरिएका प्रयास अपेक्षित रूपमा प्रभावकारी नदेखिएको वर्तमान सन्दर्भमा कानुनी सचेतनालाई अभियानका रूपमा नागरिक तहसम्म पु¥याउनु अपरिहार्य देखिन्छ ।

     

    २.  पारस्परिक कानुनी सहायता भनेको के हो ? पारस्परिक कानुनी सहायता आदानप्रदान हुने विषय उल्लेख गर्दै नेपालमा कुन अवस्थामा यस्तो सहयोग अस्वीकार गर्न सकिन्छ ? लेख्नुहोस् ।

    कुनै अपराधको अनुसन्धान वा न्यायिक कारबाहीमा कुनै एक देशले अर्को देशसँग सहयोग माग गर्ने वा प्राप्त गर्ने व्यवस्थालाई पारस्परिक कानुनी सहायता भनिन्छ । यो एकप्रकारको अन्तर्राष्ट्रिय सहकार्य हो, जसमा मुलुकबिच अपराधको अनुसन्धान, अभियोजन तथा न्यायिक कामकारबाहीमा परस्पर सहयोग आदानप्रदान हुन्छ । यसले कुनै कसुरसँग सम्बन्धित प्रमाण, कागजात, अभिलेख, साक्षी अन्य मुलुकबाट झिकाएर अपराधीलाई कानुनबमोजिम सजाय गराउन सहयोग गर्दछ । अपराधको दायरा फराकिलो हुने सीमापार अपराध, सङ्गठित अपराध, भ्रष्ट्राचार, सम्पत्ति शुद्धीकरण जस्ता जटिल प्रकारका अपराधमा संलग्नलाई बाह्य मुलुकको सहयोगमा कानुनको दायरामा ल्याउन पारस्परिक कानुनी सहायता महत्वपूर्ण मानिन्छ ।

    पारस्परिक कानुनी सहायताका विषय

    नेपाल र विदेशी राज्यबिच न्यायिक कामकारबाहीसँग सम्बन्धित देहायका विषयमा पारस्परिक कानुनी सहायता आदानप्रदान गर्न सकिन्छ :

    – कुनै कागत वा प्रमाण बुझ्ने, सङ्कलन गर्ने वा प्राप्त गर्ने,

    – कुनै सम्बद्ध वस्तु वा ठाउँको जाँच गरी सोको सूचना वा प्रमाण उपलब्ध गराउने,

    – बैङ्किङ वा वित्तीय कारोबारको अभिलेख वा प्रमाणित कागजात उपलब्ध गराउने,

    – खानतलासी गर्ने, वस्तु बरामद गर्ने, व्यक्ति रहेको स्थान पहिचान गर्ने वा मानिसको सनाखत गर्ने,

    – फौजदारी प्रकृतिको विषयमा सहयोग पु¥याउन सक्ने व्यक्ति उपस्थित गराउने,

    – म्याद तामेली गर्ने,

    – चल वा अचल सम्पत्ति रोक्का राख्ने वा जफत गर्ने,

    – विदेशी राज्यमा जफत भएको नेपालको सम्पत्ति प्राप्त गर्ने,

    – नेपालमा जफत भएको सम्पत्ति विदेशी राज्यको भएमा त्यस्तो सम्पत्ति सो मुलुकलाई उपलब्ध गराउने,

    – फैसला कार्यान्वयन गर्ने ।

    पारस्परिक कानुनी सहायता अस्वीकार गर्न सकिने अवस्था

    पारस्परिक कानुनी सहायतासम्बन्धी ऐन, २०७० बमोजिम देहायका अवस्थामा पारस्परिक कानुनी सहायता अस्वीकार गर्न सकिन्छ :

    – देवानी प्रकृतिका विषयमा एक लाख रुपियाँभन्दा कम बिगो कायम रहेको न्यायिक कारबाही भएमा,

    – फौजदारी प्रकृतिका विषयमा एक वर्षभन्दा कम कैद सजाय वा ५० हजार रुपियाँभन्दा कम जरिबाना हुने कसुर भएमा,

    – नेपालको सार्वभौमसत्ता वा सार्वजनिक व्यवस्था प्रतिकूल हुने भएमा,

    – प्राप्त अनुरोध राजनीतिक प्रकृतिको कसुर भएमा,

    – अनुरोध गरिएको विषय सैनिक कानुन अन्तर्गतको कसुरसँग सम्बन्धित देखिएमा,

    – अनुरोध गरिएको विषय अनुसन्धानका लागि महत्वहीन वा अन्य तरिकाबाट जानकारी लिन सकिने देखिएकोमा,

    – केन्द्रीय अधिकारीबाट माग गरिएका विवरण, कागजात वा प्रमाण सम्बन्धित विदेशी मुलुकबाट प्राप्त हुन नआएमा,

    – जात, धर्म, लिङ्ग, जातीय उत्पत्ति, राष्ट्रियता वा राजनीतिक विचारका आधारमा कुनै व्यक्तिविरुद्ध अनुसन्धान, कानुनी कारबाही वा सजाय गर्न खोजिएको देखिएमा,

    – द्विपक्षीय सन्धिबमोजिम अनुरोध भई नआएको भएमा ।

    – अन्त्यमा सीमापार अपराधको अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीमा राष्ट्रबिच प्रमाण, सूचना तथा अन्य कानुनी सहयोग आदानप्रदान गर्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय सहकार्यका रूपमा पारस्परिक कानुनी सहायतालाई बुझ्न सकिन्छ । यसले सङ्गठित अपराध, मानव तस्करी, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायतका अपराध नियन्त्रण तथा अपराधीलाई कानुनी दायरामा ल्याई आपराधिक कार्यबाट आर्जित सम्पत्ति जफत गर्नेसम्मको काममा सहयोग पु¥याउँछ । मुलुकको सार्वभौमसत्ता र सार्वजनिक व्यवस्थाको संरक्षणलगायत राष्ट्रिय हितका दृष्टिले महत्वपूर्ण मानिएका विषय ख्याल गर्दै कानुनमा तोकिएका अवस्थामा मात्र यस्तो सहायता इन्कार गर्न सकिने व्यवस्था गरिएको छ ।

     

    ३.  नेपालको संविधानमा विपन्न नागरिकका हक अधिकारलाई कसरी सम्बोधन गरिएको छ ? उल्लेख गर्नुहोस् ।

    न्यून आयस्तर, आधारभूत शिक्षा तथा स्वास्थ्यको अभाव, आधारभूत खानेपानी तथा सरसफाइ, आवास जस्ता सेवा सुविधाबाट वञ्चित तथा सामाजिक बहिष्करणको अवस्थालाई विपन्नता भन्न सकिन्छ । यस्तो अवस्थाबाट गुज्रेका नागरिकलाई विपन्न नागरिक भनिन्छ । नेपालको संविधान अन्तर्गत मौलिक हक, राज्यका नीति, निर्देशक सिद्धान्त तथा दायित्व अन्तर्गत विपन्न नागरिकका हक अधिकार र राज्यको दायित्वबारे प्रस्टसँग उल्लेख गरिएको छ । नेपालको संवैधानिक व्यवस्था अनुसार विपन्न नागरिकका हक अधिकार यसप्रकार छन् :

    – विपन्न नागरिक अन्य नागरिक सरह कानुनको दृष्टिमा समान हुने,

    – आर्थिक रूपले विपन्न भएको आधारमा कानुनको समान संरक्षणबाट वञ्चित गर्न वा भेदभाव गर्न नहुने,

    – आर्थिक अवस्थाका कारण समानताको हकबाट वञ्चित गर्ने वा भेदभाव गर्ने कार्य गर्न नहुने,

    – आर्थिक रूपले विपन्न नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्न सकिने,

    – विपन्न नागरिकलाई स्वतन्त्र, निष्पक्ष र सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनुवाइ पाउने हक हुने,

    – असमर्थ पक्षलाई कानुनबमोजिम नि:शुल्क कानुनी सहायता पाउने अधिकार सुनिश्चित,

    – विपन्न नागरिकलाई माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क पाउने हक तथा कानुनबमोजिम नि:शुल्क उच्च शिक्षा पाउने हकको व्यवस्था,

    – विपन्न नागरिकलाई शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने सामाजिक न्यायको हक प्रदान गरिएको,

    – विपन्न नागरिकलाई सामाजिक सुरक्षाको हक सुनिश्चित गरिएको ।

    – अन्त्यमा विपन्न नागरिक राज्यका तर्फबाट विशेष सहयोग र संरक्षण गर्नुपर्ने अवस्थाका नागरिक हुन् । नेपालको संविधानले विपन्न नागरिकलाई समानता, गैरविभेद, संरक्षण तथा नि:शुल्क कानुनी सहायता जस्ता हक प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न तथा सामाजिक सुरक्षा जस्ता मानव विकास सम्बद्ध हक अधिकारसमेत सुनिश्चित गरेको छ । साथै उनीहरूको संरक्षण, सशक्तीकरण र विकासका लागि विशेष व्यवस्था गर्न सकिने संवैधानिक आधार प्रदान गरेको छ । अत: विपन्न नागरिक पहिचानको आधारलाई स्पष्ट बनाई संविधानप्रदत्त हक अधिकार प्रचलन गराउनेतर्फ ध्यान दिनु आवश्यक देखिन्छ ।

     

    ४. गाउँपालिका वा नगरपालिकाको कार्यकारिणी अधिकारसम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस् । साथै कार्यकारिणी अधिकार प्रयोगसम्बन्धी व्यवस्थाबारे चर्चा गर्दै स्थानीय सरकार सञ्चालन ऐनबमोजिम स्थानीय तहको प्रमुखले सम्पादन गर्ने कार्य उल्लेख गर्नुहोस् । 

    स्थानीय तहको कार्यकारिणी अधिकार संविधान र सङ्घीय कानुनको अधीनमा रही गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा रहने कुरा नेपालको संविधानको धारा २१४ मा उल्लेख छ । संविधान तथा कानुनबमोजिम गाउँ तथा नगर कार्यपालिकाको देहायका विषयमा कार्यकारी अधिकार रहेको छ :

    – संविधान र अन्य कानुनको अधीनमा रही स्थानीय शासनव्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालनसम्बन्धी कार्य,

    – संविधानको अनुसूची–८ बमोजिमको एकल अधिकारक्षेत्रभित्रका २२ वटा विषय, संविधानको अनुसूची–९ बमोजिमको साझा अधिकारक्षेत्रभित्रका १५ वटा विषय,

    – एकल र साझा अधिकारका विषयक्षेत्रका सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेबमोजिमका विषय,

    – सङ्घ वा प्रदेशले आफ्नो अधिकारक्षेत्रभित्रको कुनै विषय गाउँपालिका वा नगरपालिकालाई कानुन बनाई निक्षेपण गरेको अवस्थामा त्यस्ता विषय,

    कार्यकारिणी अधिकारको प्रयोग तथा कार्य सञ्चालन :

    नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनबमोजिम गाउँपालिका तथा नगरपालिकाको कार्यकारिणी अधिकार गाउँ कार्यपालिका तथा नगर कार्यपालिकामा निहित रहेको छ । यस अधिकारको प्रयोग गाउँ कार्यपालिका तथा नगर कार्यपालिकाको नाममा देहायबमोजिम हुने गर्दछ :

    – संविधान र कानुनबमोजिम सभाले गर्ने भनी स्पष्ट व्यवस्था भएबाहेक गाउँपालिका तथा नगरपालिकाबाट सम्पादन हुने कार्यहरू गाउँ कार्यपालिका तथा नगर कार्यपालिकाले सम्पादन गर्ने,

    – गाउँ कार्यपालिका वा नगर कार्यपालिकाबाट स्वीकृत नियमावलीबमोजिम गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको कार्य विभाजन र कार्यसम्पादन हुने,

    – गाउँपालिका वा नगरपालिकाको पदाधिकारी वा सदस्यले गर्ने भनी कानुनबमोजिम निर्धारित कार्य निज पदाधिकारी वा सदस्यले नै सम्पादन गर्नुपर्ने,

    – कार्यपालिकाले आफ्नो कामकारबाही व्यवस्थित गर्न आवश्यकता अनुसार कुनै सदस्यको संयोजकत्वमा समिति वा उपसमिति गठन गरी कार्य गर्न सक्ने,

    – कार्यपालिकाले काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानुन, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाई पारदर्शी रूपमा गर्नुपर्ने ।

    स्थानीय तहको प्रमुखले सम्पादन गर्ने काम

    अध्यक्ष वा प्रमुखका काम, कर्तव्य र अधिकारका सम्बन्धमा कार्यपालिकाले स्वीकृत गरेको कार्य विभाजन र कार्यसम्पादन नियमावलीबमोजिम हुने व्यवस्थासमेत रहेको छ । नियमावलीमा व्यवस्था नहुन्जेलसम्मका लागि स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए अनुसार गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखले देहायका कार्यसम्पादन गर्नु पर्छ :

    – सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,

    – सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेस गर्ने÷गराउने,

    – वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेस गराउने,

    – सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने,

    – सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने/गराउने,

    – कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने,

    – उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाई काजमा खटाउने,

    – वडा समितिबाट सम्पादन हुने सिफारिस वा प्रमाणित हुने विषयबाहेक प्रचलित नेपाल कानुनबमोजिम स्थानीय तहबाट गर्नुपर्ने प्रमाणित वा सिफारिस गर्ने,

    – गाउँपालिका वा नगरपालिकाको चलअचल सम्पत्ति हेरचाह तथा मर्मतसम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने,

    – गाउँपालिका वा नगरपालिकाका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने,

    – सार्वजनिक सेवा प्रवाहसम्बन्धी गुनासो व्यवस्थापन गर्ने/गराउने,

    – सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने,

    – सभा वा कार्यपालिकाले तोकेका अन्य कार्य गर्ने ।

    – अन्त्यमा नेपालको संविधानले स्थानीय तहलाई राज्यशक्तिको अभ्यास गर्ने एक जिम्मेवार सरकारका रूपमा स्थापित गरेको छ । स्थानीय तहको कार्यकारिणी अधिकार संविधान, सङ्घीय कानुन तथा स्थानीय कानुनको अधीनमा गाउँ÷नगर कार्यपालिकामा निहित रहन्छ । कार्यकारिणी अधिकार मूलत: शासकीय गतिविधि सञ्चालन, सेवा प्रवाह, विकास व्यवस्थापन तथा नागरिकका दैनन्दिन चासो र सरोकार सम्बोधनमा प्रयोग हुन्छ । स्थानीय तहको प्रमुखमा स्थानीय तहको नेतृत्व, निर्देशन, अनुगमन तथा स्थानीय सरकारका निर्णय कार्यान्वयनमार्फत कार्यपालिकालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी रहने हुँदा जिम्मेवार र जवाफदेही ढङ्गले पदीय जिम्मेवारी निर्वाह गर्नु पर्छ ।

    (गोरखा पत्रको बुधबारीय अंकबाट साभार गरिएको लोकसेवा सामग्री)
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100