काठमाडौं– बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली पश्चिमतर्फ सर्दै गएसँगै नेपालका पश्चिमी भूभागमा वर्षाको मात्रा बढ्ने भएको छ । निरन्तरको वर्षाका कारण नदी तथा खोलामा बहाव बढिरहेकाले आगामी दुई दिन बाढीको जोखिमसमेत थप बढ्ने मौसमविद्हरूले बताएका छन् ।
मौसमविद् रोजन लामिछानेका अनुसार न्यूनचापीय प्रणाली पूर्वी भागबाट क्रमशः पश्चिमतर्फ सर्दैछ । त्यसको प्रभावले पूर्वी क्षेत्रमा शनिबारदेखि वर्षाको मात्रा केही घट्ने भए पनि पश्चिमी भूभागमा भने शुक्रबार रातिदेखि वर्षा बढ्ने सम्भावना छ ।
‘भोलि शनिबार पूर्वी क्षेत्रहरूमा पानीको मात्रा केही कम हुने सम्भावना छ,’ लामिछानेले भने, ‘पश्चिमी भूभागहरूमा आज रातिदेखि पानी पर्ने क्रम बढ्दै जाने देखिन्छ ।’
गण्डकी र लुम्बिनीका जिल्लामा बुधबारदेखि नै वर्षा भइरहेको छ । अब वर्षाको प्रभाव सुदूरपश्चिमसम्म विस्तार हुने र पश्चिमी क्षेत्रमा झरीको मात्रा बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको जोखिम नक्सामा बागमतीदेखि पूर्वतर्फका जिल्लालाई पहेँलो तथा गण्डकीदेखि पश्चिमतर्फका उच्च पहाडी र हिमाली जिल्लालाई रातो रंगले संकेत गरेको छ । पहेँलो संकेतले मौसमी अवस्थाबारे सतर्क रहनुपर्ने जनाउँछ भने रातो संकेत भएका क्षेत्रमा बाढीपहिरोको जोखिम रहेकाले आवश्यक प्रतिकार्यका लागि तयार रहनुपर्ने जनाइएको छ ।
३८ जिल्लामा उच्च बाढी जोखिम:
लगातारको वर्षापछि बाढी पूर्वानुमान महाशाखाले आगामी दुई दिन साना नदी तथा खोलामा बहाव बढ्नुका साथै आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ ।
महाशाखाका अनुसार आज असोज ९ गते गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको छ ।
शनिबार असोज १० गते जोखिम क्षेत्र अझ विस्तार हुने पूर्वानुमान छ । उक्त दिन नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ ।
आइतबारदेखि सातै प्रदेश हुँदै बहने साना नदी तथा खोलामा समेत आकस्मिक रूपमा बहाव बढ्न सक्ने भएकाले नदी आसपास र तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसैबीच सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा आगामी पर्सिसम्म उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
