काठमाडौँ– गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गरेको छ। मन्त्रालयले बैतडीका प्रजिअ डिजन भट्टराईलाई संखुवासभा सरुवा गर्दै उपसचिव मिना अर्याललाई बैतडीको प्रजिअको जिम्मेवारी दिएको हो।
मंगलबार राति गरिएको निर्णयअनुसार अर्यालले अब बैतडीको प्रशासनिक नेतृत्व सम्हाल्नेछिन्। यसअघि उनलाई डडेल्धुराको प्रजिअमा सरुवा गरिएको थियो। तर डडेल्धुरामा उपसचिव तहकै प्रजिअ कार्यरत रहेकै अवस्थामा सोही तहका अर्का कर्मचारीलाई पठाइएको विषयमा समस्या देखिएपछि अर्यालको सरुवा कार्यान्वयन हुन सकेको थिएन।
डडेल्धुरा पठाउने निर्णय कार्यान्वयन नभएपछि गृह मन्त्रालयमै रहेकी अर्याललाई मन्त्रालयले नयाँ निर्णयमार्फत बैतडीको जिम्मेवारी दिएको हो।
यता बैतडीका प्रजिअ भट्टराईलाई संखुवासभा पठाइएको छ। संखुवासभाको प्रजिअ पद केही समयदेखि रिक्त रहँदै आएको थियो।
कप्तानगञ्ज घटनापछि सुनसरीका प्रजिअ बासुदेव घिमिरेलाई गृह मन्त्रालय तानिएपछि संखुवासभाका तत्कालीन प्रजिअ ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाइएको थियो। त्यसयता संखुवासभामा प्रजिअको पद रिक्त थियो। मन्त्रालयले उक्त रिक्त पदमा भट्टराईलाई खटाएको हो।
यसैबीच गृह मन्त्रालयले कर्मचारी प्रशासन शाखाको जिम्मेवारीसमेत परिवर्तन गरेको छ। मन्त्रालयको कल सेन्टरमा कार्यरत उपसचिव सुवास न्यौपानेलाई कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिइएको छ।
पछिल्लो समय गृह मन्त्रालयमा कर्मचारी सरुवा तथा व्यवस्थापनसम्बन्धी निर्णयमा देखिएका फेरबदलले कर्मचारी प्रशासनको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ। विशेषगरी प्रजिअ खटनपटनका केही निर्णय कार्यान्वयनमा समस्या देखिनु र त्यसपछि निर्णय संशोधन गरिनुले मन्त्रालयभित्र कर्मचारी व्यवस्थापनमा समन्वयको चुनौती देखिएको कर्मचारी वृत्तको भनाइ छ।