आज आकाशमा दुर्लभ सूर्य ग्रहण लाग्दै, विश्वका यी भागबाट देखिने - Chaitanya News
  • 2026-08-12
  • 11:17:39
  • बुधबार,साउन २७, २०८३
  • आज आकाशमा दुर्लभ सूर्य ग्रहण लाग्दै, विश्वका यी भागबाट देखिने

    आज आकाशमा दुर्लभ सूर्य ग्रहण लाग्दै, विश्वका यी भागबाट देखिने

    काठमाडौँ– आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ सूर्य ग्रहण लाग्दैछ। पञ्चांग निर्णायक समितिका अनुसार आज लाग्ने खण्डग्रास सूर्य ग्रहण नेपालबाट भने देखिने छैन। विश्वका विभिन्न क्षेत्रमा भने यो सूर्य ग्रहण पूर्ण तथा आंशिक रूपमा देखिनेछ।

    नासाका अनुसार उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागबाट सूर्य ग्रहण पूर्ण रूपमा देखिनेछ। उत्तरी रुसको एक सानो तथा दुर्गम क्षेत्रमा दिउँसोको समयमा पूर्ण सूर्य ग्रहण देखिने जनाइएको छ।

    ग्रहणको छायाँ पूर्वतर्फ सर्दै जाँदा स्पेनका केही भागमा स्थानीय समयअनुसार सूर्यास्त हुनुअघि साँझपख ग्रहण देखिनेछ। यस्तै, अमेरिकाको उत्तरी भाग, क्यानडा, उत्तरपश्चिमी अफ्रिका तथा युरोपका धेरै क्षेत्रमा सूर्य ग्रहण आंशिक रूपमा देखिनेछ। केही स्थानमा सूर्यको ९० प्रतिशत वा सोभन्दा बढी भाग चन्द्रमाले ढाकेको देखिने वैज्ञानिकहरूले बताएका छन्।

    खगोलीय नियमअनुसार चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँदा सूर्यको प्रकाश पृथ्वीमा पूर्ण वा आंशिक रूपमा पुग्न रोकिएमा सूर्य ग्रहण लाग्छ। सूर्य ग्रहणका लागि सूर्य, चन्द्रमा र पृथ्वी लगभग एउटै सीधा रेखामा आउनुपर्छ।

    वैज्ञानिकहरूले सूर्य ग्रहणलाई खाली आँखाले नहेर्न सुझाव दिएका छन्। साधारण सनग्लास प्रयोग गरेर पनि ग्रहण हेर्न सुरक्षित नहुने र आँखाको रेटिनामा स्थायी क्षति पुग्न सक्ने भएकाले प्रमाणित सोलार फिल्टर वा विशेष ग्रहण चस्माको प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ।

    नासालगायत विभिन्न खगोलीय संस्थाले आजको सूर्य ग्रहणको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेका छन्। नेपालबाट प्रत्यक्ष ग्रहण देख्न नसकिने भए पनि अनलाइन लाइभ प्रसारणमार्फत यसको अवलोकन गर्न सकिनेछ।

    यसअघि २ असोज २०८२ मा लागेको सूर्य ग्रहण पनि नेपालबाट देखिएको थिएन। उक्त ग्रहण न्यूजिल्यान्ड, अस्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्कटिकालगायत क्षेत्रबाट देखिएको थियो।

    सूर्य ग्रहण औँसीका दिन र चन्द्र ग्रहण पूर्णिमाका दिन लाग्ने गर्छ।