संसदका सात समितिको बैठक आज, यस्ता छन् छलफलका विषय - Chaitanya News
  • 2026-08-12
  • 10:04:52
  • बुधबार,साउन २७, २०८३
  • संसदका सात समितिको बैठक आज, यस्ता छन् छलफलका विषय

    संसदका सात समितिको बैठक आज, यस्ता छन् छलफलका विषय

    काठमाडौँ– आज संघीय संसद्का विभिन्न सातवटा समितिको बैठक बस्दैछ। प्राप्त कार्यसूचीअनुसार अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

    अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका, समस्या तथा चुनौती र आयोगका सिफारिस कार्यान्वयनको अवस्थाका विषयमा छलफल हुनेछ।

    कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३ को प्रतिवेदन पेस गरी छलफल गरिनेछ।

    महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमनबाट प्राप्त निष्कर्षमाथि छलफल हुनेछ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

    सार्वजनिक लेखा समितिको बैठक अपराह्न १ बजे बस्नेछ। बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीमाथि छलफल गरिनेछ।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता र तिनको कार्यान्वयनको अवस्था तथा कार्यान्वयनका लागि नेपाल सरकारबाट भएका कामकारबाहीबारे छलफल हुनेछ।

    यस्तै, संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे सरकारका सम्बन्धित अधिकारीसँग जानकारी लिने कार्यक्रमसमेत रहेको छ।

    यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक समेत आज बस्नेछ। समितिहरूका बैठकमा सम्बन्धित मन्त्रालय तथा सरकारी निकायका अधिकारीहरूको सहभागिता रहनेछ।