काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको अवस्थाबारे सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन्।
आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै आपत्ति जनाएपछि सभामुख अर्यालले तत्कालै सरकारलाई यस्तो निर्देशन दिएका हुन्।
सांसद यादवले पूर्वतयारी, अध्ययन तथा मन्त्रिपरिषद्को निर्णय भइसकेको आयोजना लामो समयदेखि अघि नबढेको तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अन्यत्र सार्न लागेको अभिव्यक्ति दिएको भनी आपत्ति जनाएका थिए।
सभामुख अर्यालले भने, ‘आजै माननीय चन्द्रमोहन यादवले राख्नुभएको विषयमा वास्तविकता के हो ? यो विषयमा सदनलाई जानकारी गराउन म सरकारलाई निर्देशन दिन्छु।’
सांसद यादवले ढल्केवर पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्गको संगमस्थल हुनुका साथै मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोडिएको प्रमुख व्यापारिक तथा यातायात केन्द्र भएकाले दैनिक सवारीसाधनको अत्यधिक चाप रहने भएको बताए।
यही कारण सडक दुर्घटनाको जोखिम पनि उच्च रहेकाले ट्रमा सेन्टर निर्माण गर्नुपर्ने बताए। उनले तत्कालीन सरकारले मन्त्रिवपरिषदबाट गरेका निर्णय उल्ट्याउँदै विकास निर्माण अलपत्र नपार्न सरकारलाई चेतावनी समेत दिएका थिए।