लोकसेवा परीक्षामा सफलताका लागि सूत्र - Chaitanya News
  • 2026-09-22
  • 23:48:40
  • मंगलबार,आश्विन ०६, २०८३
  • लोकसेवा परीक्षामा सफलताका लागि सूत्र

    लोकसेवा परीक्षामा सफलताका लागि सूत्र

    लोकसेवा परीक्षा केवल सपना देखेर, भावनामा बगेर वा भाग्यको भरमा पास गर्न सकिँदैन। सफलता प्राप्त गर्न दृढ सङ्कल्प, निरन्तर अभ्यास, नियमित अध्ययन, धैर्यता, लगनशीलता र उच्च मनोबल अनिवार्य हुन्छ। लोकसेवा भनेको केवल एउटा परीक्षा होइन, यो व्यक्तिको सोच, अध्ययनशैली, अनुशासन, समय व्यवस्थापन र निर्णय क्षमताको पनि परीक्षा हो। त्यसैले यसमा सफल हुन चाहने प्रत्येक व्यक्तिले योजनाबद्ध रूपमा आफूलाई तयार गर्नुपर्छ।

    हामीमध्ये धेरैको सपना हुन्छ– राजस्व अधिकृत बन्ने, परराष्ट्र अधिकृत बन्ने, शाखा अधिकृत बन्ने वा राष्ट्रको सेवा गर्ने जिम्मेवार पदमा पुग्ने। सपना देख्नु गलत होइन, बरु सफलताको पहिलो खुड्किलो नै सपना हो। तर सपना मात्र देखेर लक्ष्य हासिल हुँदैन। सपना पूरा गर्न त्यसअनुसारको मिहिनेत, निरन्तर अभ्यास र सही रणनीति आवश्यक पर्छ।

    दुर्भाग्यवश, धेरैजसो परीक्षार्थीले ठूलो सपना त देख्छन्, तर पाठ्यक्रमअनुसार अध्ययन गर्दैनन्। नियमित अभ्यास गर्दैनन्। लेख्ने अभ्यास गर्दैनन्। समय व्यवस्थापन गर्दैनन्। परीक्षा नजिकिएपछि मात्र तनाव लिन्छन् र अन्तिममा भगवानसँग प्रार्थना गर्छन्– “हे भगवान, मलाई अधिकृत बनाइदेऊ।”

    भगवानले अवसर दिन सक्नुहुन्छ, तर सफलता भने तपाईंको मिहिनेतले मात्र दिलाउँछ। भाग्यले ढोका खोल्न सक्छ, तर त्यस ढोकाबाट भित्र पस्ने काम तपाईंको परिश्रमले मात्र गर्छ।

    लोकसेवा परीक्षामा अर्को महत्वपूर्ण पक्ष भनेको प्रश्न बुझ्ने क्षमता हो। धेरै परीक्षार्थीले प्रश्न नै राम्रोसँग नबुझी उत्तर लेख्न थाल्छन्। उदाहरणका लागि प्रश्न आयो—

    “हजुरको परिचय दिँदै हजुरका विशेषताहरू उल्लेख गर्नुहोस्। साथै, हजुरलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला? विवेचना गर्नुहोस्। (२+३+५)”

    तर उत्तर यस्तो सुरु हुन्छ:

    “मेरो नाम… हो। मेरो विशेषता… हो। मलाई प्रभावकारी बनाउन यो–यो गर्नुपर्छ।”

    यस्तो उत्तरले प्रश्नको माग पूरा गर्दैन। प्रश्नमा ‘विवेचना गर्नुहोस्’ भनिएको छ भने त्यसअनुसार विश्लेषण, तर्क, उदाहरण र निष्कर्ष पनि आवश्यक हुन्छ। अंकभारअनुसार उत्तरको गहिराइ पनि फरक हुनुपर्छ। दुई अंकको उत्तर र पाँच अंकको उत्तर एउटै शैलीमा लेख्न मिल्दैन।

    उत्तर लेख्नुअघि प्रत्येक परीक्षार्थीले आफूलाई केही प्रश्न सोध्नुपर्छ:

    प्रश्नको कुल अंकभार कति छ?

    प्रश्नले वास्तवमा के मागेको छ?

    उत्तरमा कुन–कुन बुँदा समेट्नुपर्छ?

    प्रश्नको मूल भाव र उद्देश्य के हो?

    सम्बन्धित तथ्य, तथ्याङ्क, कानुनी व्यवस्था वा उदाहरण के–के प्रयोग गर्न सकिन्छ?

    निष्कर्षमा के सुझाव वा कार्यदिशा दिन सकिन्छ?

    यी पक्षलाई बेवास्ता गरेर लेखिएको उत्तर राम्रो अंक ल्याउन सक्दैन। त्यसपछि “मैले त राम्रो लेखेको थिएँ, कपी चेकरले राम्रोसँग जाँच गरेन” भनेर अरूलाई दोष दिनु उचित हुँदैन। कपी चेकरले होइन, कहिलेकाहीँ हाम्रो तयारी र उत्तर लेख्ने शैलीले नै अपेक्षित नतिजा आउँदैन।

    लोकसेवा परीक्षामा सफल हुने व्यक्तिहरूले अरूभन्दा फरक काम गर्छन्। उनीहरू नियमित पढ्छन्, दैनिक लेख्ने अभ्यास गर्छन्, पुराना प्रश्नपत्र समाधान गर्छन्, समयको सही सदुपयोग गर्छन् र आफ्नो कमजोरी पहिचान गरेर सुधार गर्दै जान्छन्। उनीहरू असफलतालाई पनि सिकाइको अवसरका रूपमा लिन्छन्। एक पटक असफल हुँदैमा हार मान्दैनन्। बरु अझ बढी मेहनतका साथ पुनः तयारी गर्छन्।

    आजको प्रतिस्पर्धात्मक युगमा केवल धेरै घण्टा पढ्नु मात्र पर्याप्त हुँदैन। स्मार्ट अध्ययन, सिर्जनशील सोच (Creative Mind), विश्लेषणात्मक क्षमता, समय व्यवस्थापन र उत्तर लेख्ने सीप पनि उत्तिकै आवश्यक छन्। यही कारणले सिर्जनशील सोच भएका र आफूलाई निरन्तर सुधार गर्दै जाने व्यक्तिहरू प्रायः सफल हुन्छन्।

    लोकसेवामा सफलता प्राप्त गर्न कुनै छोटो बाटो छैन। यसको एउटै सूत्र छ— नियमित अध्ययन, निरन्तर अभ्यास, आत्मविश्वास, धैर्यता र अनुशासन। प्रत्येक दिन आफूलाई हिजोभन्दा राम्रो बनाउने प्रयास गर्नुहोस्। सानो–सानो सुधारले नै ठूलो सफलता दिलाउँछ।

    सधैं याद राख्नुहोस्:

    भाग्यभन्दा मिहिनेतमा विश्वास गर्नुहोस्।

    नियमित रूपमा अध्ययन र पुनरावृत्ति गर्नुहोस्।

    उत्तर लेख्ने अभ्यासलाई दैनिक बानी बनाउनुहोस्।

    प्रश्नको भाव बुझेर मात्र उत्तर लेख्नुहोस्।

    तथ्य, तथ्याङ्क र उदाहरण प्रयोग गर्ने बानी बसाल्नुहोस्।

    समय व्यवस्थापनमा विशेष ध्यान दिनुहोस्।

    धैर्यता गुमाउनु हुँदैन, किनकि सफलता एकै दिनमा प्राप्त हुँदैन।

    असफलताबाट निराश नभई त्यसबाट सिकेर अझ बलियो रूपमा अघि बढ्नुहोस्।

    सिर्जनशील (Creative) र असाधारण (Extraordinary) सोचको विकास गर्नुहोस्।

    आत्मविश्वासलाई कहिल्यै कमजोर हुन नदिनुहोस्।

    जीवनमा सफल हुने व्यक्तिहरू भाग्यका कारण सफल भएका होइनन्, उनीहरू आफ्नो निरन्तर मिहिनेत, अनुशासन, धैर्यता र सकारात्मक सोचका कारण सफल भएका हुन्। लोकसेवा पनि त्यही सिद्धान्तमा चल्छ। त्यसैले सफलता खोज्ने होइन, सफल हुने योग्य बन्ने प्रयास गर्नुहोस्। योग्य व्यक्तिलाई सफलता आफैंले खोज्दै आउँछ।

    आजबाटै आफूलाई एउटा प्रतिबद्धता गरौँ— म नियमित पढ्नेछु, निरन्तर अभ्यास गर्नेछु, प्रश्नको भाव बुझेर उत्तर लेख्नेछु, आफ्नो कमजोरी सुधार्नेछु र भाग्यभन्दा आफ्नो मिहिनेतमा विश्वास गर्नेछु। यदि यो प्रतिबद्धता व्यवहारमा उतार्न सक्नुभयो भने सफलता टाढा रहने छैन।

    निरन्तर अभ्यास गर्नुहोस्।
    लगनशील भएर अध्ययन गर्नुहोस्।
    धैर्य र उच्च मनोबल कायम राख्नुहोस्।
    सिर्जनशील (Creative) र असाधारण (Extraordinary) सोचको विकास गर्नुहोस्।
    भाग्यमा होइन, आफ्नै मिहिनेतमा विश्वास गरेर नियमित रूपमा अघि बढ्नुहोस्।

    विश्वास गर्नुहोस्, सफलता अवश्य सुनिश्चित छ।

    उदय राज जोशी:
    जय देश! जय सन्देश!! जय लोकसेवा!!!