मनसुन विपद्का लागि सरकारको उच्च तयारी: २६ हजार सुरक्षाकर्मी परिचालन, उद्धार उपकरणदेखि आधुनिक प्रविधिसम्म तयारी - Chaitanya News
  • 2026-09-22
  • 23:37:42
  • मंगलबार,आश्विन ०६, २०८३
  • मनसुन विपद्का लागि सरकारको उच्च तयारी: २६ हजार सुरक्षाकर्मी परिचालन, उद्धार उपकरणदेखि आधुनिक प्रविधिसम्म तयारी

    मनसुन विपद्का लागि सरकारको उच्च तयारी: २६ हजार सुरक्षाकर्मी परिचालन, उद्धार उपकरणदेखि आधुनिक प्रविधिसम्म तयारी

    काठमाडौँ– सरकारले मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण र उद्धार कार्यलाई प्रभावकारी बनाउन देशभर २६ हजारभन्दा बढी सुरक्षाकर्मी, उद्धार सामग्री तथा आधुनिक प्रविधिको तयारी पूरा गरेको जनाएको छ।

    बिहीवार राष्ट्रिय सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले विपद्को समयमा तत्काल परिचालन हुने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २६ हजार २ सय १९ सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जानकारी दिए। तीमध्ये १५३ जना दक्ष गोताखोरसमेत रहेका छन्।

    सरकारले उद्धार तथा राहतका लागि १९७ वटा दमकल, ४६० वटा एम्बुलेन्स, ६१२ वटा उद्धार डुङ्गा, १६३ वटा एस्काभेटर र १३ वटा पोर्टेबल ब्रिज तयारी अवस्थामा राखेको जनाएको छ। आवश्यक पर्दा निजी क्षेत्रका हेलिकप्टर, र्‍याफ्टिङ टोली तथा ड्रोन सेवा पनि परिचालन गर्न सम्झौता गरिएको गृहमन्त्रीले बताए।

    विपद्का बेला नागरिकले निःशुल्क रूपमा सहयोग माग्न सकून् भनेर नेपाल टेलिकमसँगको सहकार्यमा ‘१२३४’ टोल–फ्री नम्बर सञ्चालनमा ल्याइएको छ। साथै सडक अवरोध हटाउने कार्यलाई सहज बनाउन ‘सेतु एप’ सञ्चालनमा ल्याइएको र जोखिमबारे छिटो सूचना प्रवाह गर्न ‘सेल ब्रोडकास्टिङ सिस्टम’ प्रयोगको तयारी भइरहेको उनले जानकारी दिए।

    उद्धार तथा राहत व्यवस्थापनलाई थप सुदृढ बनाउन जिल्ला प्रशासन कार्यालयहरूलाई उद्धार सामग्री खरिदका लागि ७ करोड ६२ लाख रुपैयाँ तथा २८ जिल्लामा डुङ्गा खरिदका लागि १ करोड ४४ लाख रुपैयाँ निकासा गरिएको छ। हाल प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन कोषमा ७ अर्ब ५६ करोड रुपैयाँ मौज्दात रहेको पनि सरकारले जनाएको छ।

    गृहमन्त्री गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यकारी प्रमुख नियुक्तिसँगै संस्थागत नेतृत्वको अभाव अन्त्य भएको उल्लेख गर्दै केन्द्रदेखि जिल्ला तहसम्मका कमान्ड पोस्ट २४सै घण्टा सक्रिय रहेको बताए।

    उनले मनसुनजन्य विपद् व्यवस्थापन सरकार मात्र नभई सबै निकाय र नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै जनधनको क्षति न्यूनतम बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।