निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको आग्रह: ‘संसदमा होइन, सूक्ष्म अनुसन्धानलाई प्राथमिकता दिऔँ’ - Chaitanya News
  • 2026-08-06
  • 16:33:37
  • बिहिबार,साउन २१, २०८३
  • निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको आग्रह: ‘संसदमा होइन, सूक्ष्म अनुसन्धानलाई प्राथमिकता दिऔँ’

    निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको आग्रह: ‘संसदमा होइन, सूक्ष्म अनुसन्धानलाई प्राथमिकता दिऔँ’

    काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या तथा बलात्कार प्रकरणको अनुसन्धान संवेदनशील रूपमा अघि बढिरहेको भन्दै यस विषयलाई बारम्बार संघीय संसदमा नउठाउन सांसदहरूलाई आग्रह गरेका छन्।

    राष्ट्रिय सभाको बिहीबारको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त प्रकरणमा दोषी अझै पत्ता नलाग्नुको कारणबारे प्रश्न उठाउँदै पीडितले कहिलेसम्म न्याय पाउने भनी जिज्ञासा राखेका थिए।

    जवाफमा गृहमन्त्री गुरुङले हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान सरकारले निरन्तर गरिरहेको उल्लेख गर्दै निर्मला पन्त प्रकरण पनि सूक्ष्म रूपमा अनुसन्धान भइरहेको बताए। उनले यस विषयमा आफूले पनि प्रतिप्रश्न गर्न चाहेको भन्दै, अघिल्लो सरकार सत्तामा हुँदा किन अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन नसकिएको भन्ने प्रश्न उठाए।

    उनले संवेदनशील घटनाबारे सार्वजनिक बहसभन्दा अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै पीडित परिवारलाई थप मानसिक पीडा पुग्ने गरी संसदमा बारम्बार चर्चा नगर्न आग्रह गरे। गृहमन्त्रीले अनुसन्धानबाट निष्कर्ष निकाल्ने कामलाई प्राथमिकता दिनुपर्ने भन्दै भविष्यमा यस्ता विषय व्यक्तिगत रूपमा राख्न समेत सांसदहरूलाई अनुरोध गरे।