ग्यास अभाव र कालोबजारी रोक्न मन्त्रालयको ‘हटलाइन’, उपभोक्तालाई सिधै उजुरी गर्न आग्रह - Chaitanya News
  • 2026-09-21
  • 22:05:50
  • सोमबार,आश्विन ०५, २०८३
  • ग्यास अभाव र कालोबजारी रोक्न मन्त्रालयको ‘हटलाइन’, उपभोक्तालाई सिधै उजुरी गर्न आग्रह

    ग्यास अभाव र कालोबजारी रोक्न मन्त्रालयको ‘हटलाइन’, उपभोक्तालाई सिधै उजुरी गर्न आग्रह

    काठमाडौँ–  बजारमा एलपी ग्यासको अभाव र वितरणमा देखिएको अव्यवस्थाप्रति बढ्दो गुनासोपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्ताबाट सिधै सूचना तथा उजुरी संकलन गर्ने व्यवस्था गरेको छ।

    उद्योग मन्त्री गौरीकुमारी यादवको सचिवालयले जारी गरेको सूचनाअनुसार ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी भएको, आपूर्ति अवरुद्ध पारिएको वा वितरणमा कुनै अनियमितता देखिए उपभोक्ताले ९८५१११६७७३ नम्बरमा सम्पर्क गरी जानकारी दिन सक्नेछन्।

    मन्त्रालयले प्राप्त हुने उजुरीलाई गम्भीरतापूर्वक अध्ययन गरी सम्बन्धित निकायसँग समन्वय गरेर तत्काल आवश्यक अनुगमन, कारबाही तथा समस्या समाधानका लागि पहल गरिने जनाएको छ।

    पछिल्ला करिब २० दिनदेखि देशका विभिन्न स्थानमा एलपी ग्यासको आपूर्ति प्रभावित हुँदा उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने, कतिपयले रित्तो सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था सिर्जना भएको छ। यही अवस्थाको फाइदा उठाएर केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै बढी मूल्य असुल्ने र कालोबजारी गर्ने गुनासो पनि बढ्दै गएको छ।

    यस्तो अवस्थामा उपभोक्ताको प्रत्यक्ष सहभागितामार्फत बजारको वास्तविक अवस्था बुझ्ने र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने उद्देश्यले मन्त्रालयले हटलाइन नम्बर सार्वजनिक गरेको जनाएको छ। साथै, बजारमा ग्यास आपूर्ति सहज बनाउने र उपभोक्ताको हित संरक्षणका लागि प्राप्त सूचनाका आधारमा आवश्यक कदम चालिने मन्त्रालयको भनाइ छ।