काठमाडौँ– तीन सहसचिवको सरुवा गरिएको छ। सरकारले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका तीन कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै नयाँ कार्यस्थल तोकेको छ। मन्त्रिपरिषद्को बिहीबार सार्वजनिक निर्णयअनुसार काठमाडौँ महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ भने गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारमा पनि नयाँ सहसचिव खटिएका छन्।
निर्णयअनुसार पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल लाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। अर्यालको आगमनसँगै काठमाडौँ महानगरमा प्रमुख प्रशासकीय नेतृत्व परिवर्तन भएको हो।
त्यसैगरी, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहका सहसचिव महेशचन्द्र न्यौपाने लाई पूर्वाधार विकास मन्त्रालयबाट सरुवा गरी गृह मन्त्रालय वा अन्तर्गत खटाइएको छ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रशासन सेवाका सहसचिव रमेश कुमार के.सी. लाई कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत प्रदेश सचिवको जिम्मेवारी दिइएको छ।
सरकारले प्रशासनिक नेतृत्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न निकायमा सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ। यसअघि प्रशासन डटकमले काठमाडौँ महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतसहित केही सहसचिवको सरुवा हुने तयारीबारे समाचार सार्वजनिक गरेको थियो।
![]()