काठमाडौँ– बजारमा खाना पकाउने एलपी ग्यासको अभावबारे उपभोक्तामा बढ्दो चिन्ताबीच सरकारले आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गर्दै कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारीमा संलग्न हुनेमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ।
मन्त्रालयका अनुसार हाल अघिल्ला वर्षको यही अवधिको तुलनामा नियमित माग धान्न सक्ने परिमाणभन्दा बढी एलपी ग्यास आयात र वितरण भइरहेको छ। बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरोकारवाला निकायसँग समन्वय गरी वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम अघि बढाइएको जनाइएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ। नेपाल आयल निगम र ग्यास उद्योगीसँगको समन्वयमा ग्यासको आयात, भण्डारण र वितरण प्रणालीलाई पारदर्शी तथा अनुमानयोग्य बनाउने सुधारका काम पनि सुरु गरिएको उल्लेख छ।
मन्त्रालयले वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
साथै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनविपरीत गतिविधिमा संलग्न हुने वा उपभोक्तालाई अनावश्यक सास्ती दिने व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनी पनि मन्त्रालयले दिएको छ।