गुनासोको चापसँगै ‘हेलो सरकार’को रूपान्तरण, अब एउटै प्लेटफर्मबाट सबै सरकारी सेवामा पहुँच - Chaitanya News
  • 2026-08-05
  • 09:46:11
  • बुधबार,साउन २०, २०८३
  • गुनासोको चापसँगै ‘हेलो सरकार’को रूपान्तरण, अब एउटै प्लेटफर्मबाट सबै सरकारी सेवामा पहुँच

    गुनासोको चापसँगै ‘हेलो सरकार’को रूपान्तरण, अब एउटै प्लेटफर्मबाट सबै सरकारी सेवामा पहुँच

    काठमाडौँ– नागरिकका गुनासो उल्लेख्य रूपमा बढ्न थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’लाई साधारण गुनासो दर्ता केन्द्रबाट एकीकृत नागरिक सेवा व्यवस्थापन प्रणालीमा रूपान्तरण गर्ने तयारी अघि बढाएको छ।

    प्रधानमन्त्री कार्यालयले विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरेको छ। प्रस्तावअनुसार फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायत विभिन्न माध्यमबाट आउने सबै गुनासो एउटै डिजिटल प्रणालीमा व्यवस्थापन गरिनेछ।

    नयाँ प्रणाली लागू भएपछि सेवाग्राहीले सम्बन्धित कार्यालयमै अनलाइन गुनासो दर्ता गर्न, त्यसको प्रगति हेर्न र कारबाहीबारे जानकारी लिन सक्नेछन्। सम्बन्धित कार्यालयमा सिधै गुनासो दिन नचाहे हेलो सरकारकै स्वचालित प्रणालीले सम्बन्धित निकायमा गुनासो पठाउने व्यवस्था गरिनेछ।

    सरकारले निःशुल्क नम्बर ११११ लाई विभिन्न मन्त्रालय तथा सरकारी निकायका कल सेन्टरसँग पनि आबद्ध गर्ने तयारी गरेको छ। गुनासोको प्रकृतिअनुसार कल सम्बन्धित निकायमा सिधै पुग्नेछ भने सेवा नपाए पुनः हेलो सरकारमै फर्कने व्यवस्था प्रस्ताव गरिएको छ। यसले एउटै विषयमा नागरिकले पटक–पटक विभिन्न कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।

    प्रणालीमा गुनासोकर्ताको अघिल्ला गुनासो, त्यसको अवस्था र समाधानको विवरण सुरक्षित रहनेछ। एउटै व्यक्तिले एउटै विषयमा बारम्बार दर्ता गरेका गुनासोलाई एउटै मुद्दाका रूपमा व्यवस्थापन गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

    सरकारले संघ, प्रदेश र स्थानीय तहसम्म एउटै ढाँचामा गुनासो व्यवस्थापन गर्ने उद्देश्यसहित ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन दिग्दर्शन’ पनि तयार पारेको छ। दिग्दर्शनअनुसार अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। गुनासो समाधान भएपछि सेवाग्राहीबाट पृष्ठपोषण प्राप्त गरेपछि मात्रै फर्छ्यौट हुने प्रणालीसमेत विकास गरिनेछ।

    यसबीच हेलो सरकारमा गुनासो दर्ताको संख्या भने अभूतपूर्व रूपमा बढेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा ६९ हजार ७२४ गुनासा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको १६ हजार ५६८ को तुलनामा ३२१ प्रतिशतले बढी हो। पछिल्ला पाँच वर्षमा दर्ता भएका कुल एक लाख २४ हजार ५८१ गुनासामध्ये आधाभन्दा बढी गुनासा गत आर्थिक वर्षमै परेका छन्।

    पछिल्ला तीन महिनामा मात्रै ५० हजार ७२१ गुनासा दर्ता भएकामध्ये ३९ हजार १७७ गुनासाको समाधान गरिएको छ। चालु आर्थिक वर्षको साउन १८ गतेसम्म पनि नौ हजार ६१० गुनासा प्राप्त भइसकेका छन्, जसबाट हेलो सरकारप्रति नागरिकको प्रयोग र अपेक्षा दुवै बढ्दै गएको देखिएको छ।