बैंकरसँग अर्थमन्त्रीको संवाद: बजेट कार्यान्वयनदेखि लगानी विस्तारसम्म सहकार्य बढाइने - Chaitanya News
  • 2026-08-04
  • 18:16:08
  • मंगलबार,साउन १९, २०८३
  • बैंकरसँग अर्थमन्त्रीको संवाद: बजेट कार्यान्वयनदेखि लगानी विस्तारसम्म सहकार्य बढाइने

    बैंकरसँग अर्थमन्त्रीको संवाद: बजेट कार्यान्वयनदेखि लगानी विस्तारसम्म सहकार्य बढाइने

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको प्रभावकारी कार्यान्वयन, लगानी विस्तार र अर्थतन्त्रमा देखिएको सुस्तता अन्त्य गर्न बैंकिङ क्षेत्रसँग सरकारको सहकार्य अझ सुदृढ बनाइने बताएका छन्।

    मंगलवार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँग भएको छलफलमा उनले आर्थिक रूपान्तरणका लागि बजेटले स्पष्ट दिशा तय गरिसकेको उल्लेख गर्दै अब त्यसलाई व्यवहारमा उतार्न सरकार र बैंकिङ क्षेत्रबीचको समन्वय निर्णायक हुने बताए।

    उनका अनुसार बैंकिङ क्षेत्रले अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई नजिकबाट बुझ्ने भएकाले बजेट कार्यान्वयन तथा विद्यमान चुनौती समाधानमा बैंकरहरूको सुझाव र अनुभव सरकारका लागि महत्वपूर्ण आधार बन्नेछ।

    छलफलका क्रममा अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक अवस्थाका केही विरोधाभासपूर्ण पक्षप्रति पनि ध्यानाकर्षण गराए। बैंकिङ प्रणालीमा पर्याप्त तरलता, ऐतिहासिक रूपमा न्यून कर्जा ब्याजदर र लगानीका लागि अनुकूल वातावरण हुँदाहुँदै पनि कर्जाको माग अपेक्षाअनुसार नबढ्नु र निजी क्षेत्र लगानी विस्तारमा उत्साहित नदेखिनु चिन्ताको विषय भएको उनले बताए।

    उनले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमनमा मात्र सीमित नरही आर्थिक वृद्धि, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हासिल गर्ने साझा साझेदारीका रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। आवश्यक कानुनी तथा प्रक्रियागत सुधार गर्न सरकार तयार रहेको पनि उनले स्पष्ट पारे।

    अर्थमन्त्रीले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने आवश्यकता औँल्याउँदै छलफलबाट आएका सुझावलाई कार्यान्वयनमुखी योजना बनाइने विश्वास व्यक्त गरे।

    नेपाललाई उच्च आर्थिक वृद्धि र उत्पादकत्वतर्फ अघि बढाउन बैंकिङ क्षेत्रको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै उनले आर्थिक रूपान्तरणको अभियानमा नेतृत्वदायी साझेदारका रूपमा अघि बढ्न बैंकहरूलाई आग्रह गरे।