आयल निगमलाई समितिको चेतावनी: ‘ग्यास सिलिन्डर म्यापिङ तुरुन्त सुरु गर, नसके जिम्मेवारी छाड’ - Chaitanya News
  • 2026-08-04
  • 16:53:39
  • मंगलबार,साउन १९, २०८३
  • आयल निगमलाई समितिको चेतावनी: ‘ग्यास सिलिन्डर म्यापिङ तुरुन्त सुरु गर, नसके जिम्मेवारी छाड’

    आयल निगमलाई समितिको चेतावनी: ‘ग्यास सिलिन्डर म्यापिङ तुरुन्त सुरु गर, नसके जिम्मेवारी छाड’

    काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यास वितरण प्रणालीलाई डिजिटल प्रविधिमा आधारित बनाउन नेपाल आयल निगमलाई कडा निर्देशन दिएको छ। समितिले देशभर रहेका करिब १ करोड ७५ लाख ग्यास सिलिन्डरको म्यापिङ गरी बारकोड वा क्युआर कोडमार्फत ट्र्याकिङ प्रणाली तत्काल सुरु गर्न आग्रह गरेको हो।

    मंगलबार बसेको समितिको बैठकमा सभापति रहबर अन्सारीले १७ दिनअघि दिएको निर्देशनको प्रभावकारी कार्यान्वयन नभएको भन्दै निगमको कार्यशैलीप्रति असन्तुष्टि जनाए। उनले समितिले बारम्बार निर्देशन दिँदा पनि काममा प्रगति नदेखिएको उल्लेख गर्दै परिणाम दिन नसके जिम्मेवारी छाड्न नेतृत्वलाई चेतावनी दिए।

    अन्सारीले प्रत्येक ग्यास सिलिन्डरलाई डिजिटल पहिचान नम्बर दिई नेपाल विद्युत् प्राधिकरणको घरधुरी विवरणसँग जोड्नुपर्ने प्रस्ताव राखे। यसबाट कुन सिलिन्डर कहाँ, कसको प्रयोगमा र कुन कम्पनीअन्तर्गत छ भन्ने विवरण राज्यसँग रहने तथा कृत्रिम अभाव, सिलिन्डर लुकाउने प्रवृत्ति र वितरणमा हुने अनियमितता नियन्त्रण गर्न सहज हुने उनको भनाइ थियो। ३० दिनभित्र कोडबिनाका सिलिन्डर साटफेर रोक्ने व्यवस्था गरिए बजारमा लुकाइएका सिलिन्डर स्वतः बाहिर आउने दाबी पनि उनले गरे।

    सभापति अन्सारीले ग्यासमा लागू भइरहेको समान मूल्य नीति पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि औँल्याए। पाँचतारे होटल, ठूला उद्योग र व्यावसायिक प्रतिष्ठानले घरेलु प्रयोजनका लागि छुट दरमा उपलब्ध १४.२ केजी सिलिन्डर प्रयोग गर्दा राज्यले ठूलो परिमाणमा अनुदान व्यहोर्नुपरेको उनको भनाइ छ।

    उनले व्यावसायिक क्षेत्रका लागि ५०, १०० र ४५० केजी क्षमताका सिलिन्डर तथा विद्यार्थी, डेरावासी र न्यून खपत हुने उपभोक्ताका लागि ५ केजी क्षमताको सिलिन्डर सञ्चालनमा ल्याउन सुझाव दिए। ग्यास उत्पादक संघ र नेपाल आयल निगमलाई प्रविधिमैत्री तथा नवप्रवर्तनमुखी प्रणाली लागू गर्न सहकार्य गर्न आग्रह गर्दै उनले यसबाट कृत्रिम अभाव, अनुदान दुरुपयोग र वितरण अव्यवस्था न्यूनीकरण गर्न सकिने बताए।