‘एक महिनालाई पुग्ने ग्यास छ भने लाइन नबस्नुस्’:  एलपी ग्यास उद्योग संघ - Chaitanya News
  • 2026-08-04
  • 16:53:40
  • मंगलबार,साउन १९, २०८३
  • ‘एक महिनालाई पुग्ने ग्यास छ भने लाइन नबस्नुस्’:  एलपी ग्यास उद्योग संघ

    ‘एक महिनालाई पुग्ने ग्यास छ भने लाइन नबस्नुस्’:  एलपी ग्यास उद्योग संघ

    काठमाडौँ– बजारमा ग्यास अभावको हल्ला र बढ्दो भीडबीच एलपी ग्यास उद्योग संघ नेपालले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भर्न लाइनमा नबस्न आग्रह गरेको छ। कम्तीमा एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्ताले तत्काल सिलिण्डर भर्न नआए बजारमा देखिएको चाप कम हुने संघको विश्वास छ।

    संघले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्लो समय पूर्ण क्षमताको १४.२ केजी एलपी ग्यास सिलिण्डर वितरण पुनः सुरु भएपछि अधिकांश उपभोक्ता एकैपटक ग्यास भर्न पुगेकाले बजारमा अस्वाभाविक माग सिर्जना भएको जनाएको छ।

    संघका अनुसार अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही समयअघि आधा क्षमताको (७.१ केजी) ग्यास मात्र वितरण गर्नुपरेको थियो। अहिले भने आयात नियमित अवस्थामा फर्किएकाले ग्यासको आपूर्तिमा समस्या नरहेको दाबी गरिएको छ।

    यद्यपि, सबै उपभोक्ताले एकै समयमा सिलिण्डर भर्न खोज्दा वितरण प्रणालीमा अत्यधिक दबाब परेको संघको भनाइ छ। त्यसैले बजारलाई सहज बनाउन उपभोक्ताले आवश्यकताअनुसार मात्रै ग्यास लिन, विक्रेताले पारदर्शी र प्राथमिकताका आधारमा वितरण गर्न तथा उद्योगहरूले नियमित आपूर्ति कायम राख्नुपर्नेमा जोड दिइएको छ।

    संघले नेपाल आयल निगमसँग पनि बजार पूर्ण रूपमा सहज नहुँदासम्म नियमित परिमाणभन्दा थप ग्यास आयातको व्यवस्था गर्न आग्रह गरेको छ। साथै, ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न निगम, उद्योगी, विक्रेता र उपभोक्ताबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गरेको छ।