काठमाडौँ– खाना पकाउने ग्याँस वितरणमा देखिएको अव्यवस्था, असमान पहुँच र उपभोक्ताका गुनासा बढ्न थालेपछि काठमाडौँ महानगर प्रहरी बलले डिपोमै पुगेर अनुगमन तथा वितरण व्यवस्थापनमा सहजीकरण सुरु गरेको छ।
लामो समयसम्म ग्याँस नपाउने, पहुँचवालाले मात्रै सहज रूपमा ग्याँस प्राप्त गर्ने तथा विद्यार्थीसहित सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासा आएपछि महानगर प्रहरीले वितरण प्रणालीलाई व्यवस्थित बनाउन सक्रियता बढाएको हो।
महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार उपलब्ध ग्याँस सबै उपभोक्तासम्म सन्तुलित रूपमा पुग्ने वातावरण बनाउन प्रहरीको भूमिका सहजीकरणमा केन्द्रित रहनेछ। उनले डिपोमा ग्याँस वितरणको अवस्था, सिलिण्डरको तौल, म्याद, अग्नि सुरक्षा सामग्रीको उपलब्धता, भण्डारण र ढुवानीको सुरक्षा मापदण्डसमेत नियमित रूपमा अनुगमन गरिने बताए।
जोशीका अनुसार महानगरका चारवटै क्षेत्रबाट सूचकका आधारमा नियमित अनुगमन गरिनेछ। अभियानको सुरुआत अनामनगर क्षेत्रबाट गरिएको थियो। अनुगमनका क्रममा साना डिपोहरूमा ग्याँस मौज्दात भए पनि ठूला डिपोमा उपभोक्ताको अत्यधिक भीड देखिएको थियो।
डिपो सञ्चालकहरूका अनुसार अधिकांश उपभोक्ता साना डिपोमा ग्याँस नपाइने ठानेर सिधै ठूला डिपोमा पुग्ने गरेका कारण त्यहाँ कृत्रिम चाप बढेको छ। यता उपभोक्ताले भने बिहानैदेखि लाइन बस्नुपर्ने अवस्था रहेको र केही व्यक्तिले धेरै सिलिण्डर लैजाने गरेको आशंका व्यक्त गरेका छन्।
यसबीच नेपाल आयल निगमले भने ग्याँसको आपूर्ति विगतकै परिमाणमा भइरहेको जनाएको छ। निगमका अनुसार अहिले देखिएको समस्या आपूर्ति घटेका कारण नभई उपभोक्ताको माग एकाएक बढेकाले वितरणमा चाप परेको हो।