१० प्रतिशत निःशुल्क उपचारमा पहुँच सहज बनाउन मन्त्रालय सक्रिय, अस्पतालका सम्पर्क अधिकारी सार्वजनिक - Chaitanya News
  • 2026-08-03
  • 17:34:35
  • सोमबार,साउन १८, २०८३
  • १० प्रतिशत निःशुल्क उपचारमा पहुँच सहज बनाउन मन्त्रालय सक्रिय, अस्पतालका सम्पर्क अधिकारी सार्वजनिक

    १० प्रतिशत निःशुल्क उपचारमा पहुँच सहज बनाउन मन्त्रालय सक्रिय, अस्पतालका सम्पर्क अधिकारी सार्वजनिक

    काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गराउने उद्देश्यले देशभरका सेवाप्रदायक अस्पतालका सम्पर्क अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ।

    सोमबार सार्वजनिक गरिएको सूचीमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पतालहरू समेटिएका छन्। मन्त्रालयका अनुसार प्रत्येक अस्पतालमा निःशुल्क शय्या सेवासम्बन्धी समन्वयका लागि जिम्मेवार सम्पर्क व्यक्ति तोकिएको छ, जसको नाम र फोन नम्बरसमेत सार्वजनिक गरिएको छ।

    यस व्यवस्थामार्फत बिरामी तथा सेवाग्राहीले निःशुल्क उपचार सेवा प्राप्त गर्न आवश्यक जानकारी लिन, सेवा लिन समस्या परे सम्बन्धित अस्पतालका फोकल पर्सनसँग सिधै सम्पर्क गर्न तथा गुनासो दर्ता गर्न सक्नेछन्।

    मन्त्रालयले कार्यविधिअनुसार उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क शय्या सेवा व्यवहारमै कार्यान्वयन भएको सुनिश्चित गर्न निगरानी र समन्वयलाई थप प्रभावकारी बनाएको जनाएको छ। यसअघि नै मन्त्रालयले निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइसकेको छ भने अस्पतालहरूलाई आरक्षित शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्न निर्देशन दिइएको छ।

    मन्त्रालयले सार्वजनिक गरिएको सम्पर्क विवरणको उपयोग गर्दै सेवाग्राहीलाई निःशुल्क उपचारसम्बन्धी सूचना लिन, आवश्यक समन्वय गर्न तथा सेवा प्राप्तिमा कुनै समस्या आए तत्काल सम्बन्धित अधिकारीसँग सम्पर्क गर्न आग्रह गरेको छ।