हिन्दुवादी आन्दोलनपछि सरकारसँग १३ बुँदे सहमति, धार्मिक सद्भावदेखि नागरिकता छानबिनसम्मका विषय समेटिए - Chaitanya News
  • 2026-08-02
  • 09:49:09
  • आइतबार,साउन १७, २०८३
  • हिन्दुवादी आन्दोलनपछि सरकारसँग १३ बुँदे सहमति, धार्मिक सद्भावदेखि नागरिकता छानबिनसम्मका विषय समेटिए

    हिन्दुवादी आन्दोलनपछि सरकारसँग १३ बुँदे सहमति, धार्मिक सद्भावदेखि नागरिकता छानबिनसम्मका विषय समेटिए

    जनकपुरधाम– हिन्दुवादी संगठनको आन्दोलनपछि सरकार र आन्दोलनरत पक्षबीच विभिन्न धार्मिक, सामाजिक तथा प्रशासनिक विषय समेटिएको १३ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा शनिबार राति सम्पन्न वार्तामा दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार आन्दोलनरत संयुक्त हिन्दु मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति तथा राष्ट्रिय पहिचानसँग सम्बन्धित १३ बुँदे माग सरकारसमक्ष राखेको थियो। सोही मागका आधारमा सहमति जुटाइएको हो।

    सहमतिअनुसार नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। साथै धार्मिक स्थलमा हतियार प्रदर्शन तथा उत्तेजक गतिविधि नियन्त्रण गरिने, मठमन्दिर, मस्जिद, गुम्बा र चर्चलगायतका धार्मिक स्थलमा जडान गरिएका लाउडस्पिकर तथा ध्वनि विस्तारक उपकरणको प्रयोग व्यवस्थित गरिने र आवश्यक धार्मिक गतिविधिमा मात्रै सीमित ध्वनि प्रयोग गर्ने व्यवस्था मिलाइने सहमति भएको छ।

    यस्तै, धार्मिक स्थलमा बसोबास गर्ने व्यक्तिको अभिलेखीकरण गर्ने, विदेशी नागरिक भए सम्बन्धित निकायमार्फत निगरानी र व्यवस्थापन गर्ने तथा सामाजिक सञ्जालमार्फत धार्मिक, साम्प्रदायिक वा जातीय द्वेष फैलाउनेमाथि कानुनी कारबाही गर्ने विषय पनि सहमतिमा समेटिएको छ। सुनसरीको देवानगन्ज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन गर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउने तथा धार्मिक आयोगहरूको औचित्य, आवश्यकता र कानुनी आधार पुनरावलोकन गर्ने सहमति पनि भएको छ।

    त्यसैगरी आन्दोलनमा सहभागी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने, नेपाली नागरिकता वितरण प्रक्रियाको छानबिन गर्ने, विदेशी नागरिकसँग सम्बन्धित विषयमा कानुनी प्रक्रिया अघि बढाउने तथा मदरसा, मस्जिद र अन्य धार्मिक संस्थामा प्राप्त हुने आर्थिक स्रोतको पारदर्शिता र नियमनका लागि आवश्यक अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।

    वार्तामा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकारी टोली तथा मधेस प्रदेश सरकारका पदाधिकारी, जनप्रतिनिधि र हिन्दु सम्राट् सेनासहित हिन्दुवादी संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।