काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको दुःखद घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।
आज (बिहिबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक वासना थापाले कप्तानगञ्जमा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन्। उनले सो घटनामा दर्जनौँ नागरिक घाइते भएको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको बताइन्।
‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? यसको जवाफ सरकारले सदनमा दिनुपर्छ,’ थापाले भनिन्, ‘घटनाको निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्छ र यसको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ।’
उनले प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि कडा प्रश्न उठाइन्। काठमाडौँ महानगरका मेयर बालेन शाहले विगतमा प्रधानमन्त्रीप्रति लक्षित गर्दै गरेको एउटा सामाजिक सञ्जालको टिप्पणी स्मरण गर्दै थापाले भनिन्, ‘हिजो आक्रोश पोख्ने प्रधानमन्त्री आज मौन हुनुहुन्छ, सदनमा आँसु झार्ने गृहमन्त्री पनि आज मौन हुनुहुन्छ। के सरकारले लगाएको कालो चश्माले मृत्यु र पीडाको रङ पनि फरक–फरक देख्छ ?’
उनले नेतृत्व भनेको केवल प्रशासन चलाउनु मात्र नभई सङ्कटका बेला राष्ट्रको मनोबल सम्हाल्नु र नागरिकको अभिभावक बन्नु पनि भएको उल्लेख गरिन्। ‘नेतृत्व सङ्कटको समयमा देखिनुपर्छ, तर सरकारको मौनताले नागरिकमा असुरक्षा र अन्योल बढाएको छ,’ उनले थपिन्।
समाजमा साम्प्रदायिक सद्भाव कायम राख्न र हिंसालाई प्रश्रय नदिन सबै पक्षलाई अपिल समेत थापाले गरिन्। उनले पहिचानको आधार नेपालीपन र सह–अस्तित्व नै भएकोमा जोड दिँदै सामाजिक एकता भड्काउने प्रयास नगर्न चेतावनी दिइन्।