सुनसरी घटनापछि सर्वदलीय एकता : शान्ति, सद्भाव र कानुनी शासनका पक्षमा साझा प्रतिबद्धता - Chaitanya News
  • 2026-07-29
  • 13:55:07
  • बुधबार,साउन १३, २०८३
  • सुनसरी घटनापछि सर्वदलीय एकता : शान्ति, सद्भाव र कानुनी शासनका पक्षमा साझा प्रतिबद्धता

    सुनसरी घटनापछि सर्वदलीय एकता : शान्ति, सद्भाव र कानुनी शासनका पक्षमा साझा प्रतिबद्धता

    काठमाडौँ– सुनसरीसहित देशका विभिन्न स्थानमा भएका पछिल्ला संवेदनशील घटनापछि प्रमुख राजनीतिक दलहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। बुधबार बसेको सर्वदलीय बैठकपछि जारी सातबुँदे संयुक्त अपिलमार्फत दलहरूले हिंसा र उत्तेजनालाई अस्वीकार गर्दै संवाद, संयम र लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन्।

    बैठकपछि जारी वक्तव्यमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै विविधतायुक्त नेपाली समाजको एकता र सहअस्तित्वलाई कुनै पनि हालतमा कमजोर हुन नदिन सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

    दलहरूले सामाजिक सद्भाव बिथोल्ने गतिविधि, उत्तेजनात्मक अभिव्यक्ति तथा हिंसात्मक मार्गबाट टाढा रहन आह्वान गर्दै लोकतान्त्रिक व्यवस्थाभित्र रहेका असन्तुष्टि र मतभेदलाई शान्तिपूर्ण संवादबाट समाधान गर्नुपर्ने धारणा अघि सारेका छन्।

    स्थानीय तहसम्म सर्वदलीय संयन्त्र सक्रिय बनाउने, धार्मिक अगुवा, नागरिक समाज र प्रशासनबीच समन्वय बढाउने तथा समुदायस्तरमा विश्वासको वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि वक्तव्यमा समेटिएको छ।

    त्यसैगरी सामाजिक सञ्जालमा फैलिने अफवाह, भ्रामक सूचना र घृणाजन्य सामग्रीले परिस्थिति थप जटिल बनाउन सक्ने भन्दै तथ्यमा आधारित सूचना मात्रै सार्वजनिक गर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरिएको छ।

    संयुक्त वक्तव्यमार्फत सरकारलाई घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, नागरिकको सुरक्षाको प्रत्याभूति तथा पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ।

    प्रमुख दलहरूले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक समन्वय, संवाद र नेतृत्वदायी भूमिका निर्वाह गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति संरक्षणका लागि सरकार तथा समाजसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।