लगानी र उद्योग विस्तारका अवरोध हटाउने सरकारको प्रतिबद्धता, निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान - Chaitanya News
  • 2026-07-28
  • 18:52:01
  • मंगलबार,साउन १२, २०८३
  • लगानी र उद्योग विस्तारका अवरोध हटाउने सरकारको प्रतिबद्धता, निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान

    लगानी र उद्योग विस्तारका अवरोध हटाउने सरकारको प्रतिबद्धता, निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको लगानी सुरक्षित बनाउने, उचित प्रतिफल सुनिश्चित गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

    मंगलबार सिंहदरबारमा उद्यमीहरूसँग आयोजित छलफल कार्यक्रममा उनले उद्योग तथा व्यवसाय विस्तारमा देखिएका अवरोध हटाउँदै नेपाललाई थप लगानीमैत्री र व्यवसायमैत्री अर्थतन्त्रका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताए।

    उनले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरू कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधार समयबद्ध रूपमा अघि बढाइने बताए। साथै पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानी वातावरण सुदृढ गर्ने काम पनि सँगसँगै अघि बढिरहेको जानकारी दिए।

    अर्थमन्त्री वाग्लेले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई आर्थिक रूपान्तरणको आधारका रूपमा प्रस्तुत गर्दै नियमित छलफलभन्दा पनि यसलाई नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा अभियानका रूपमा लिनुपर्ने धारणा राखे।

    उनले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रलाई स्वदेशी उत्पादनमा आधारित बनाउँदै आयात प्रतिस्थापन र निर्यात विस्तारतर्फ उद्योग क्षेत्रले नेतृत्व गर्नुपर्ने बताए। लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनःस्थापित गर्नुपर्नेमा पनि उनले जोड दिए।

    उनका अनुसार निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता भएकाले उद्यमीको लगानी, नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहनेछ। सरकारले सुधारको गति अझ तीव्र बनाउने, व्यवसायमा रहेका अवरोध हटाउने र निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

    अर्थमन्त्री वाग्लेले उद्यमीहरूलाई आत्मविश्वासका साथ लगानी बढाउन, उत्पादन विस्तार गर्न, नयाँ उद्योग स्थापना गर्न तथा रोजगारी सिर्जनामा सक्रिय हुन आग्रह गर्दै लगानी, उत्पादन र उत्पादकत्वमार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन आह्वान गरे।