काठमाडौँ– विदेशमा आकर्षक रोजगारीको प्रलोभनमा पारेर कम्बोडिया पुर्याइएका नेपालीहरूलाई साइबर अपराधमा जबर्जस्ती संलग्न गराउने गिरोह सक्रिय बन्दै गएको देखिएको छ। पछिल्लो एक वर्षमा मात्रै कम्बोडियाबाट ४ सय नेपाली नागरिकको उद्धार गरिएको तथ्यांकले यस जोखिमलाई उजागर गरेको हो।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा मंगलबार आयोजित मानव बेचबिखनविरुद्धको कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी नकुल पोखरेलले आर्थिक वर्ष २०८२/८३ मा कम्बोडियाबाट ४ सय नेपालीको उद्धार गरिएको जानकारी दिए।
उद्धार गरिएकामध्ये ३८२ जना पुरुष र १८ जना महिला रहेका छन्। ब्युरोका अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा अत्यधिक बढेको हो। आर्थिक वर्ष २०८१/८२ मा कम्बोडियाबाट १४ जना नेपालीको मात्र उद्धार गरिएको थियो, जसमा १२ पुरुष र दुई महिला थिए।
त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा दुई जना, २०७९/८० मा एक जना र २०७८/७९ मा पाँच जना नेपाली नागरिकको उद्धार गरिएको तथ्यांक रहेको छ।
प्रहरीका अनुसार मानव तस्करहरूले उच्च आम्दानी र सहज रोजगारीको आश्वासन दिएर नेपालीलाई कम्बोडिया पुर्याउने गरेका छन्। त्यहाँ पुगेपछि उनीहरूलाई साइबर स्क्यामलगायतका अवैध गतिविधिमा जबर्जस्ती संलग्न गराइने गरेको अनुसन्धानबाट खुलेको छ।
सुरक्षा निकायले मानव बेचबिखनको स्वरूप प्रविधिसँगै परिवर्तन हुँदै गएको भन्दै विदेशमा रोजगारीका नाममा हुने ठगी, शोषण र साइबर दासत्व रोक्न थप सतर्कता र प्रभावकारी नियन्त्रण आवश्यक रहेको जनाएको छ।