काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डलाई पुँजी बजारको सुधार र दिगो विकासका लागि प्रभावकारी तथा गुणस्तरीय नियमनमा केन्द्रित हुन निर्देशन दिएका छन्।
बोर्डको स्थलगत निरीक्षणका क्रममा उनले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याए। नयाँ नेतृत्वसँगै बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्ने प्रयास थालेको र त्यसको सकारात्मक संकेत बजारमा देखिन थालेको पनि उनले बताए।
अर्थमन्त्री वाग्लेले धितोपत्र बोर्डको भूमिका नेपाल राष्ट्र बैंकजत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कानुन निर्माण तथा नियामकीय व्यवस्था तयार गर्दा सबै सरोकारवालासँग व्यापक परामर्श गरी साझा सहमतिका आधारमा अघि बढ्नुपर्ने धारणा राखे। उनले लगानीकर्ताको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै बजारलाई थप विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउन आग्रह गरे।
यसैबीच, बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पुँजी बजार विकासका लागि ‘ब्लु प्रिन्ट’ तयार गरी कार्यान्वयन सुरु गरिएको जानकारी दिए। उनका अनुसार चालु साउनभित्र प्राथमिक तथा दोस्रो बजारसँग सम्बन्धित आइपिओ निष्कासन, इन्ट्रा–डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका तयार गरिनेछ। आवश्यक परामर्शपछि ती व्यवस्थाहरू चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने उनले बताए।
सोमबार अर्थमन्त्री वाग्लेसहितको उच्चस्तरीय टोलीले नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षण गरेको थियो।