अतिरिक्त ग्यास नथुपार्न उद्योगीको आग्रह, कृत्रिम अभाव सिर्जना नगर्न अपिल - Chaitanya News
  • 2026-07-27
  • 15:15:02
  • सोमबार,साउन ११, २०८३
  • अतिरिक्त ग्यास नथुपार्न उद्योगीको आग्रह, कृत्रिम अभाव सिर्जना नगर्न अपिल

    अतिरिक्त ग्यास नथुपार्न उद्योगीको आग्रह, कृत्रिम अभाव सिर्जना नगर्न अपिल

    काठमाडौँ– नेपाल एलपी ग्यास उद्योग संघले बजारमा देखिएको ग्यासको अस्थायी अभाव आपूर्तिमा कमीका कारण नभई उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्न थालेपछि उत्पन्न भएको जनाएको छ। संघले कृत्रिम अभाव हुन नदिन आवश्यक परिमाणमा मात्र ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।

    संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट नेपाल आउने एलपी ग्यासको आपूर्तिमा कुनै कमी आएको छैन। दैनिक करिब १०० बुलेट ग्यास आयात भइरहेको र नेपाल आयल निगममार्फत हुने आपूर्ति तथा उद्योगहरूको वितरण प्रणाली पनि नियमित रूपमा सञ्चालन भइरहेको उनले बताए।

    उनका अनुसार उपभोक्ताले एकैपटक धेरै सिलिन्डर भण्डारण गर्न थालेपछि बजारमा केही समयका लागि उपलब्धता प्रभावित भएको हो। नियमित खपतअनुसार मात्र ग्यास खरिद गरे हाल देखिएको समस्या सहज रूपमा समाधान हुने उनको भनाइ छ।

    संघका सदस्य विमल कालाखेतीले पनि उद्योगहरूले पूर्ण क्षमतामा भरिएका सिलिन्डर समयमै वितरण गर्न प्रयास गरिरहेको जानकारी दिए। उनले सामान्य अवस्थाका लागि आवश्यक ग्यास पर्याप्त मात्रामा उपलब्ध रहेकाले दीर्घकालीन आपूर्ति संकट नरहेको स्पष्ट पारे।

    संघका अनुसार हाल नेपालभर करिब एक करोड ५० लाख एलपी ग्यास सिलिन्डर रहेका छन्, जसमध्ये करिब ५० लाख सिलिन्डर विभिन्न डिपोमा मौज्दात छन्।

    सरकारले गत फागुन २८ गतेदेखि आधा परिमाणको सिलिन्डर ग्यास वितरण व्यवस्था लागू गरेको छ। हाल देशभर ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्।