विश्वविद्यालयका समस्या समाधानमा सरकार सक्रिय : शिक्षामन्त्री पोखरेल - Chaitanya News
  • 2026-09-13
  • 03:21:06
  • शनिबार,भाद्र २७, २०८३
  • विश्वविद्यालयका समस्या समाधानमा सरकार सक्रिय : शिक्षामन्त्री पोखरेल

    विश्वविद्यालयका समस्या समाधानमा सरकार सक्रिय : शिक्षामन्त्री पोखरेल

    काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयका दीर्घकालीन समस्या समाधानका लागि सरकारले आवश्यक पहल अघि बढाएको बताएका छन्। विश्वविद्यालयको आफ्नै भवन निर्माणका लागि जग्गा व्यवस्थापन प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्‍याएर भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने उनले बताएका हुन्।

    विश्वविद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि र भविष्यको कार्ययोजनाबारे छलफल गर्न जनकपुर पुगेका मन्त्री पोखरेलले पदाधिकारीहरूसँगको बैठकमा विश्वविद्यालयलाई व्यवस्थित, गुणस्तरीय र दीर्घकालीन रूपमा सुदृढ बनाउने विषयमा सरकार गम्भीर रहेको स्पष्ट पारे।

    उनले विश्वविद्यालयसँग आफ्नै भवन नहुँदा पठनपाठन र प्रशासनिक कामकाजमा परेको असरबारे चासो व्यक्त गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी निर्माण कार्य यथाशीघ्र अघि बढाइने आश्वासन दिए।

    भ्रमणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीलाई क्रिकेट ब्याट, बल, फुटबललगायत खेल सामग्री हस्तान्तरण गरेका छन्। दुई महिनाअघि जनकपुर भ्रमणका क्रममा विद्यार्थीले खेल सामग्रीको अभावबारे राखेको मागअनुसार सरकारले आफ्नो प्रतिबद्धता पूरा गरेको उनले बताए।

    मधेश प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्ने अभियानबारे पनि मन्त्री पोखरेलले प्रदेश सरकारलाई प्रतिवेदन बुझाइसकिएको जानकारी दिँदै अभियानको प्रगति उत्साहजनक रहेको बताए। अभियानको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकार तथा सम्बन्धित निकायसँग थप समन्वय र छलफल गरिने उनले उल्लेख गरे।

    मन्त्री पोखरेलले विश्वविद्यालयका समस्या पहिचान गरी समाधानतर्फ सरकार सक्रिय रहेको र शिक्षा क्षेत्रमा रहेका चुनौतीलाई अवसरका रूपमा उपयोग गर्दै सुधारका काम अघि बढाइरहेको बताए। उनका अनुसार राजर्षि जनक विश्वविद्यालयका लागि आवश्यक जग्गा व्यवस्थापन सम्पन्न गरी आफ्नै भवन निर्माण प्रक्रिया सकेसम्म छिटो सुरु गर्ने तयारी भइरहेको छ।