काठमाडौँ– ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन गरिएको छ। आज (सोमवार) एक कार्यक्रमको आयोजना गरी पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा.तानाका अकिहिको र नेपालका लागि जापानी राजदुत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक डा। विजय जैसीले संयुक्त रूपमा रिबन काटेर सुरुङ मार्गको उद्घाटन गरेका हुन्।
सुरुङमार्ग उद्घाटनका क्रममा व्राह्मणहरुले स्वस्ति वाचनसहित पूजापाठ समेत गरेका थिए उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले नेपालतर्फको शिलालेखको अनावरण तथा जापानी राजदुत र जाइकाका अध्यक्षबाट संयुक्त रूपमा जापानतर्फको शिलालेखको अनावरण समेत गरेका छन्। उद्घाटनसँगै नेपालकै पहिलो सुरुङमार्ग सञ्चालनमा आएको छ। उद्घाटनपछि मन्त्री लम्सालसहितको टोलीले सुरुङ मार्गको यात्रा पनि गरेका छन्।
जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा सुरुङ मार्गको निर्माण सम्पन्न भएको हो। यस आयोजनाको कुल लागत करिव १९ अर्ब रुपैयाँ रहेको छ। मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ। यद्यपि सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिव ५ दशमलव ५ किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि.सं.२०७६ देखि यस आयोजनाको निर्माण शुरु गरेको थियो।
सुरुङ मार्गमा तत्कालको लागी एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिने सडक विभागका महानिर्देशक डा. विजय जैशीले जानकारी दिए। सुरुङ मार्गलाई चरणबद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइनेछ। उनका अनुसार सुरुङ परीक्षणको क्रममा कुनै शुल्क लिइनेछैन भने परीक्षणको क्रम सकिएपछि सवारी साधनाको प्रकारअनुसार शुल्क लिइनेछ।
सडक विभागकाअनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनिबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ। यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ बराबरको शुल्क तिर्नुपर्नेछ। सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई भने गुड्न निषेध गरिएको छ। त्यस्तै, पैदल यात्री, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन्।
आयोजनामा मुख्य एवं उद्धार गरी दुई वटा सुरुङमार्ग छन्। मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट शुरु हुने सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुन बेँसी नगरपालिकाको सिस्ने खोलामा टुंगिनेछ।