काठमाडौँ– नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्न वित्तीय सुशासन, पारदर्शिता र कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ। यसै उद्देश्यलाई केन्द्रमा राख्दै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन) ले आफ्ना सदस्य संस्थाका कार्यकारी प्रमुख तथा विभागीय नेतृत्वका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा सहभागीहरूले नेपालले अन्तर्राष्ट्रिय मापदण्डअनुसार वित्तीय प्रणालीलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै गैरनाफामूलक संस्थाहरूले पनि कानुनी दायित्वलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। एआइएनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य सामाजिक संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्था, नियामकीय दायित्व र व्यवहारिक कार्यान्वयनबारे स्पष्ट जानकारी गराउनु रहेको थियो।
नेपाल सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को पाँचौँ संशोधनमार्फत गैरनाफामूलक संस्थाहरूलाई समेत कानुनी दायराभित्र समेटेपछि ती संस्थाहरूको भूमिका थप जिम्मेवार बनेको छ। यही परिवर्तनलाई ध्यानमा राख्दै दर्ता तथा आबद्धता प्रदान गर्ने सरकारी निकायहरूले आवश्यक मापदण्ड र नियमन प्रणाली विकास गरिरहेका बेला यस्तो अभिमुखीकरण कार्यक्रम उपयोगी हुने विश्वास एआइएनले व्यक्त गरेको छ।
कार्यक्रमका क्रममा सरकारी अधिकारी तथा प्राविधिक विज्ञहरूले सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा हुने वित्तीय सहयोग तथा आमविनाशकारी हातहतियारसँग सम्बन्धित वित्तीय गतिविधि नियन्त्रणका लागि अपनाइएका कानुनी प्रबन्ध, अन्तर्राष्ट्रिय अभ्यास र कार्यान्वयनका चुनौतीबारे विस्तृत प्रस्तुति दिएका थिए। सहभागीहरूलाई वित्तीय जोखिम पहिचान, अभिलेख व्यवस्थापन, पारदर्शी वित्तीय कारोबार र नियामक निकायसँगको समन्वयका विषयमा समेत जानकारी गराइएको थियो।
छलफलमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने राष्ट्रिय प्रयासमा सरकारी संयन्त्रसँगै सामाजिक क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने धारणा व्यक्त गरिएको थियो। वित्तीय अनुशासन, पारदर्शिता र उत्तरदायित्वलाई संस्थागत रूपमा लागू गर्न सके अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वसनीयता बढ्ने सहभागीहरूको निष्कर्ष थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एआइएनकी कोषाध्यक्ष सुजिता माथेमाले वित्तीय सुशासन कुनै एक निकायको जिम्मेवारी नभई सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था तथा सम्पूर्ण सरोकारवालाको साझा दायित्व भएको बताइन्। उनले नेपाल अहिले वित्तीय पारदर्शिता र सुशासन सुदृढ गर्ने महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै एफएटीएफको ग्रे लिस्टमा परेको अवस्थालाई केवल नकारात्मक दृष्टिले नभई सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा राखिन्।
उनका अनुसार ग्रे लिस्टमा रहँदा विदेशी लगानी आकर्षित गर्न कठिनाइ हुने, अन्तर्राष्ट्रिय बैंकिङ कारोबार थप जटिल बन्ने, रेमिट्यान्स प्रवाह प्रभावित हुन सक्ने, विकास साझेदारहरूको विश्वासमा असर पर्ने तथा नेपालको अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक प्रभाव पर्न सक्ने जोखिम रहन्छ। त्यसैले वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिष्कृत गर्दै पारदर्शिता, उत्तरदायित्व र विश्वसनीयता अभिवृद्धि गर्नु अहिलेको प्रमुख आवश्यकता भएको उनले बताइन्।
माथेमाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय सहयोग नियन्त्रणलाई केवल कानुनी वा प्राविधिक विषयका रूपमा सीमित गर्न नहुने उल्लेख गरिन्। उनका अनुसार यो विषय मुलुकको आर्थिक स्थायित्व, सुशासन, लगानीकर्ताको विश्वास, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय प्रतिष्ठासँग प्रत्यक्ष रूपमा जोडिएको छ। प्रभावकारी नियमन, संस्थागत क्षमता अभिवृद्धि र सबै पक्षबीचको सहकार्यले मात्र नेपाललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विश्वसनीय वित्तीय प्रणाली निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागीहरूले गैरनाफामूलक संस्थाहरूले आफ्नो वित्तीय कारोबार पारदर्शी बनाउने, कानुनी दायित्व समयमै पूरा गर्ने र जोखिम व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए। उनीहरूले वित्तीय अनुशासनको संस्कार विकास गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्न सके सामाजिक क्षेत्रप्रति विश्वास अझ बलियो बन्ने धारणा राखेका थिए।
एआइएनले यस्ता अभिमुखीकरण कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि, कानुनी सचेतना र वित्तीय सुशासनलाई थप मजबुत बनाउने जनाएको छ। कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, प्राविधिक विज्ञ तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।