अर्थमन्त्री वाग्लेले भने: ‘ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’ - Chaitanya News
  • 2026-10-28
  • 11:20:35
  • बुधबार,कार्तिक १२, २०८३
  • अर्थमन्त्री वाग्लेले भने: ‘ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’

    अर्थमन्त्री वाग्लेले भने: ‘ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्दै सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक सहजीकरण गरिरहेको बताएका छन्।

    अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूसँग शनिबार भर्चुअल संवाद गर्दै उनले प्रवासी नेपालीहरूलाई नेपालको आर्थिक विकासका महत्त्वपूर्ण साझेदार र सद्भावना दूतको रूपमा व्याख्या गरे। सरकारले कर, राजस्व र बजेट वितरणमा सुधारका साथै एनआरएनए बन्ड, अफसोर बन्ड र वैकल्पिक वित्त परिचालनजस्ता अवधारणामार्फत प्रवासी लगानी आकर्षित गर्ने नीति अघि बढाएको उनको भनाइ थियो।

    नेपालमा गरिएको लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सकिने व्यवस्था मिलाइने उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीहरूलाई आफ्नै पूँजी तथा विदेशी लगानी नेपाल भित्र्याउन पहल गर्न आग्रह गरे।

    वाग्लेले नयाँ सरकारले सुशासन, पारदर्शिता, उच्च नैतिकता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै अर्थतन्त्रलाई सुधारको दिशामा अघि बढाएको दाबी गरे। साथै, सरकारबाट थप के–कस्ता सहजीकरण आवश्यक छन् भन्ने विषयमा स्पष्ट सुझाव दिन पनि प्रवासी नेपालीहरूलाई आग्रह गरे।

    उनले “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने सरकारको नीति स्पष्ट रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूलाई देशको समृद्धि निर्माणमा हातेमालो गर्न आह्वान गरे।