काठमाडौँ– अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रहरीले विगतमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका तथा पुनः अपराधमा संलग्न हुन सक्ने जोखिम भएका १ हजार ८७१ व्यक्तिको ‘क्रिमिनल प्रोफाइल’ तयार गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गुण्डागर्दी, तस्करी, लागुऔषध कारोबार, कर्तव्य ज्यान, ठगी, चोरीलगायत जघन्य अपराधमा संलग्न भइसकेका व्यक्तिहरूको गतिविधि, पृष्ठभूमि र जोखिमको मूल्याङ्कनका आधारमा प्रोफाइलिङ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले तयार गरिएको प्रोफाइलले सम्भावित आपराधिक गतिविधिको पूर्वानुमान गर्न र अपराध रोकथामका लागि निगरानी तथा अनुसन्धानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
उनका अनुसार प्रोफाइलमा समावेश गरिएका सबै व्यक्ति यसअघि कुनै न कुनै आपराधिक घटनामा संलग्न भइसकेका हुन्। पुराना घटनामा जोडिएका र भविष्यमा पनि अपराध गर्न सक्ने जोखिम देखिएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर यो प्रोफाइल तयार गरिएको उनले स्पष्ट पारे।