धान आयात घटे पनि चामलको भोक बढ्यो, २० अर्बभन्दा बढीको तयारी चामल भित्रियो - Chaitanya News
  • 2026-07-23
  • 18:07:00
  • बिहिबार,साउन ०७, २०८३
  • धान आयात घटे पनि चामलको भोक बढ्यो, २० अर्बभन्दा बढीको तयारी चामल भित्रियो

    धान आयात घटे पनि चामलको भोक बढ्यो, २० अर्बभन्दा बढीको तयारी चामल भित्रियो

    काठमाडौं– कृषिप्रधान देश भनेर चिनिने नेपालमा धान उत्पादनको सम्भावना प्रशस्त भए पनि मुख्य खाद्यान्न धान तथा चामलमा विदेशी बजारमाथिको निर्भरता कायमै रहेको देखिएको छ। अझ पछिल्लो तथ्यांकले नेपालले कच्चा धानभन्दा तयारी चामल बढी आयात गर्न थालेको संकेत गरेको छ, जसले खाद्य सुरक्षा, स्वदेशी कृषि र चामल उद्योगको अवस्थाप्रति नयाँ प्रश्न उठाएको छ।

    भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले कुल ७ लाख ४१ हजार ७ सय ३ टन धान तथा चामल आयात गरेको छ। यसका लागि ३९ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ विदेशिएको छ। समग्र आयात अघिल्लो वर्षको तुलनामा केही घटेको देखिए पनि आयातको स्वरूप भने परिवर्तन भएको छ। धान आयात घट्दा तयारी चामलको आयात बढेको तथ्यांकले देखाएको हो।

    आर्थिक वर्ष २०८१/८२ मा नेपालले ७ लाख ७५ हजार २ सय ६८ टन धानचामल आयात गरेको थियो, जसको मूल्य ४० अर्ब १८ करोड ९७ लाख रुपैयाँ थियो। यस आधारमा गत वर्ष करिब ३३ हजार ५ सय ६५ टन आयात घटेको र रकमका हिसाबले पनि करिब २९ करोड ३९ लाख रुपैयाँ कम बाहिरिएको देखिन्छ। तर यो कमीले स्वदेशी उत्पादन बढेको स्पष्ट संकेत भने दिँदैन, किनकि आयातको ढाँचा नै फेरिएको छ।

    तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालले ४ लाख ७७ हजार ९ सय ९ टन धान आयात गरेको छ, जसको मूल्य १९ अर्ब १४ करोड ५९ लाख रुपैयाँ रहेको छ। यसमध्ये २ हजार ९ सय ९३ टन धानको बिउ र ४ लाख ७४ हजार ९ सय १५ टन कच्चा धान रहेको छ।

    अघिल्लो आर्थिक वर्षमा भने ५ लाख ३३ हजार ७ सय १५ टन धान आयात भएको थियो, जसको मूल्य २१ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ थियो। यसले कच्चा धान आयातमा उल्लेख्य कमी आएको देखाउँछ।

    तर कच्चा धानको आयात घटेसँगै तयारी चामलको आयात भने उल्टै बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालले २ लाख ६३ हजार ७ सय ९४ टन तयारी चामल आयात गरेको छ। यसका लागि २० अर्ब ७४ करोड ९८ लाख रुपैयाँ विदेशिएको छ।

    यसमा मसिनो चामल सबैभन्दा बढी आयात भएको छ। कुल १ लाख ८३ हजार १ सय १० टन मसिनो चामल आयात हुँदा ७१ हजार ६ सय २२ टन बासमती, ९ हजार ५२ टन कनिका तथा अत्यन्त न्यून परिमाणमा ब्राउन राइस आयात भएको तथ्यांकले देखाएको छ।

    यसअघि आर्थिक वर्ष २०८१/८२ मा भने २ लाख ४१ हजार ५ सय ५३ टन तयारी चामल आयात भएको थियो, जसको मूल्य १८ अर्ब ६६ करोड ५९ लाख रुपैयाँ थियो। यसले एक वर्षमै तयारी चामलको आयात परिमाण र मूल्य दुवै बढेको पुष्टि गर्छ।

    नेपालको धान तथा चामल आयातमा भारतको प्रभुत्व अझै यथावत् रहेको छ। कुल आयातको ९९ प्रतिशतभन्दा बढी हिस्सा भारतबाट आउने गरेको तथ्यांकले देखाउँछ।

    गत आर्थिक वर्षमा आयात भएको ४ लाख ७४ हजार ९ सय १५ टन कच्चा धान पूर्ण रूपमा भारतबाट आएको छ। त्यस्तै ७१ हजार ६ सय २२ टन बासमती चामल आयातमध्ये ७१ हजार ६ सय १७ टन भारतबाट आएको छ भने चीन र कतारबाट परीक्षणका रूपमा नगन्य परिमाण मात्र भित्रिएको छ।

    सबैभन्दा धेरै आयात हुने मसिनो चामलमध्ये १ लाख ८२ हजार ४ सय ५ टन भारतबाट आएको छ, जसको मूल्य करिब ११ अर्ब ९० करोड रुपैयाँ रहेको छ। बाँकी परिमाण भने भियतनाम, चीन, थाइल्यान्ड र इटालीबाट सीमित मात्रामा आयात भएको छ।

    कनिका चामलतर्फ ९ हजार ५२ टन आयातमध्ये लगभग सबै भारतबाट आएको छ। धानको बिउमा भने भारतसँगै चीनबाट पनि केही परिमाण भित्रिएको छ। तथ्यांकअनुसार २ हजार ६ सय ६९ टन बिउ भारतबाट र ३ सय २४ टन चीनबाट आयात गरिएको छ।

    समग्र तथ्यांकले धानचामल आयातको रकममा सामान्य कमी देखिए पनि नेपाल अझै पनि मुख्य खाद्यान्नका लागि विदेशी बजारमा अत्यधिक निर्भर रहेको स्पष्ट हुन्छ। विशेषगरी तयारी चामलको बढ्दो आयातले स्वदेशी धान उत्पादन, चामल मिल उद्योग र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामाथि थप चुनौती खडा गरेको देखिन्छ।