कर संकलन प्रक्रियालाई दबाबमुखी नभई सेवामुखी बनाउन अर्थमन्त्रीको निर्देशन - Chaitanya News
  • 2026-07-23
  • 17:46:15
  • बिहिबार,साउन ०७, २०८३
  • कर संकलन प्रक्रियालाई दबाबमुखी नभई सेवामुखी बनाउन अर्थमन्त्रीको निर्देशन

    कर संकलन प्रक्रियालाई दबाबमुखी नभई सेवामुखी बनाउन अर्थमन्त्रीको निर्देशन

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर संकलन प्रक्रियालाई दबाबमुखी नभई सेवामुखी बनाउन कर प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

    आज (बिहीबार) आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले करदातासँग सहजीकरण गर्दै स्वेच्छिक कर अनुपालन बढाउनेतर्फ ध्यान दिन आग्रह गरेका हुन्।

    उनले करदातालाई डर, दबाब वा असहज परिस्थितिमा पारेर नभई विश्वासको वातावरण निर्माण गरी करको दायरामा ल्याउनुपर्ने बताए। कर प्रशासनमा सुधार भएको र कर तिर्ने प्रक्रिया सहज बनेको अनुभूति आम नागरिकले गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।

    अर्थमन्त्री वाग्लेले कर प्रशासन प्रभावकारी बनाउन आवश्यक जनशक्ति, भौतिक पूर्वाधार वा सूचना प्रविधिमा कुनै समस्या भए स्पष्ट रूपमा जानकारी गराउन कर्मचारीलाई आग्रह गरे। राज्यको राजस्व वृद्धि र कर प्रणाली सुधारमा योगदान गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

    उनले करदाता सन्तुष्ट हुने, कर संकलन प्रक्रिया सहज हुने र राजस्व लक्ष्य हासिल हुने गरी काम गर्नुपर्नेमा जोड दिए। सरकारले अघि सारेको १६ खर्ब रुपैयाँ राजस्व संकलन लक्ष्यमा आन्तरिक राजस्वको हिस्सा पूरा गर्न प्रभावकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए।

    चालु आर्थिक वर्षको बजेटले मुलुकको आर्थिक दिशामा परिवर्तन ल्याउने आधार तयार गरेको उल्लेख गर्दै उनले आगामी चार वर्षका बजेटमार्फत सरकारले अघि सारेको आर्थिक संरचनाको स्पष्ट चित्र देखिने बताए।

    अर्थमन्त्रीले बजेटमा व्यवस्था गरिएका छुट तथा प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता सचेतना बढाउन र कारोबारलाई डिजिटल प्रणालीमा विस्तार गर्न विभागीय नेतृत्वलाई निर्देशन दिए।

    मुलुकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानीको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले पहल गरिरहेको उल्लेख गर्दै उनले कर प्रशासनले पनि गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गर्नुपर्ने बताए।

    कर अधिकृतहरूको वृत्तिविकास उनीहरूको कार्यसम्पादन र राज्यप्रतिको योगदानका आधारमा गरिने स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले सरुवा तथा अन्य प्रशासनिक प्रक्रियामा व्यक्तिगत प्रभाव वा दबाब प्रयोग नगर्न कर्मचारीहरूलाई आग्रह गरे।