नेपालको वैदेशिक व्यापारमा घाटाकै दबाब, सीमित देशसँग मात्रै नाफा - Chaitanya News
  • 2026-07-23
  • 17:31:04
  • बिहिबार,साउन ०७, २०८३
  • नेपालको वैदेशिक व्यापारमा घाटाकै दबाब, सीमित देशसँग मात्रै नाफा

    नेपालको वैदेशिक व्यापारमा घाटाकै दबाब, सीमित देशसँग मात्रै नाफा

    काठमाडौँ– नेपालको वैदेशिक व्यापार अझै पनि आयातमुखी बनेको तथ्य पछिल्लो सरकारी तथ्यांकले पुनः पुष्टि गरेको छ। आर्थिक वर्ष २०८२–८३ मा नेपालले विश्वका १६२ देशसँग व्यापार गरे पनि तीमध्ये १३४ देशसँग व्यापार घाटा व्यहोरेको छ। केवल २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकले देखाएको छ।

    तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालको कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। एक वर्षमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गर्न सकेको छ। यसले नेपालको आयात–निर्यातबीचको असन्तुलन अझै गहिरिँदै गएको देखाउँछ।

    नेपालको कुल व्यापार घाटामध्ये सबैभन्दा ठूलो हिस्सा भारत र चीनसँगको व्यापारबाट सिर्जना भएको छ। भारतसँग मात्रै ९ खर्ब ५१ अर्ब रुपैयाँ र चीनसँग ४ खर्ब २३ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ। यी दुई छिमेकी मुलुकसँगको घाटा जोड्दा नेपालको कुल व्यापार घाटाको ठूलो हिस्सा यहीँ केन्द्रित देखिन्छ।

    भारतबाट गत आर्थिक वर्षमा १२ खर्ब १० अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ। त्यसको तुलनामा नेपालले भारततर्फ २ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गर्न सकेको छ। यही कारण भारतसँग नेपालको व्यापार घाटा ९ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको हो।

    चीनसँगको अवस्था झन् असन्तुलित देखिएको छ। चीनबाट ४ खर्ब २५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने नेपालबाट चीनतर्फ जम्मा १ अर्ब ८९ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। यसले चीनसँग नेपालको व्यापार घाटा ४ खर्ब २३ अर्ब रुपैयाँ पुर्‍याएको छ।

    छिमेकी मुलुकपछि अर्जेन्टिनासँग नेपालको तेस्रो ठूलो व्यापार घाटा रहेको छ। अर्जेन्टिनाबाट १ खर्ब १६ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात भएको छ भने नेपालबाट त्यहाँ निर्यात जम्मा १८ हजार रुपैयाँ बराबरको मात्रै भएको छ। तेलजन्य वस्तु आयातका कारण अर्जेन्टिनासँगको व्यापार असन्तुलन निकै ठूलो देखिएको हो।

    त्यसैगरी संयुक्त अरब इमिरेट्स (यूएई)सँग ५० अर्ब ३२ करोड रुपैयाँ, इन्डोनेसियासँग २१ अर्ब ९२ करोड रुपैयाँ, थाइल्यान्डसँग १८ अर्ब ३२ करोड रुपैयाँ, अष्ट्रेलियासँग १८ अर्ब २६ करोड रुपैयाँ, ब्राजिलसँग १७ अर्ब ७० करोड रुपैयाँ, मलेसियासँग १५ अर्ब २६ करोड रुपैयाँ तथा अमेरिकासँग ११ अर्ब ९४ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको तथ्यांकले देखाएको छ।

    यता व्यापार नाफामा रहेका देशहरूको सूची भने निकै छोटो छ। नेपालले जम्मा २८ देशसँग मात्रै व्यापार नाफा कमाएको छ। तीमध्ये अधिकांश युरोपेली तथा साना टापु राष्ट्र रहेका छन्, जहाँ नेपालको निर्यात त भएको छ तर आयात निकै कम वा शून्य बराबर रहेको छ।

    नेपालले सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग कमाएको छ। डेनमार्कबाट २१ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा नेपालले त्यहाँ १ अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। यसरी डेनमार्कसँग नेपालको व्यापार नाफा ८० करोड ४५ लाख रुपैयाँ पुगेको छ।

    त्यस्तै नर्वेसँग ८ करोड ८० लाख रुपैयाँ, रोमानियासँग ४ करोड २२ लाख रुपैयाँ र आइसल्याण्डसँग २ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार नाफा रहेको छ।

    केही देशसँग नेपालको व्यापार पूर्ण रूपमा नाफामा देखिएको छ, किनभने ती देशबाट नेपालले कुनै वस्तु आयात गरेको छैन। ग्रेनाडा, फिजी, बहामास, बार्बाडोस, सिरियन अरब रिपब्लिक तथा एङ्गोलाबाट गत आर्थिक वर्षमा आयात शून्य रहेको छ भने नेपालबाट भने ती देशतर्फ वस्तु निर्यात भएको छ।

    अमेरिकन सामोआबाट जम्मा २ हजार रुपैयाँ बराबरको आयात हुँदा नेपालले त्यहाँ ४ करोड ४६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। त्यसैगरी केम्यान आइल्याण्ड्स र पानामाबाट क्रमशः १–१ हजार रुपैयाँ बराबरको मात्रै आयात भएको छ भने निर्यात लाखौँ रुपैयाँ बराबरको भएको तथ्यांकमा उल्लेख छ।

    यसका अतिरिक्त सेसेल्स, नाइजर, माल्दिभ्स, इराक, न्यू क्यालेडोनिया, यमन, जर्जिया, कोलम्बिया, मौरिसस, माली, साइप्रस, क्रोएसिया, घाना, कंगो र जमैकाजस्ता देशहरूसँग पनि नेपाल व्यापार नाफामा रहेको छ।

    भन्सार विभागको तथ्यांकले नेपालको वैदेशिक व्यापार केही सीमित मुलुकमा अत्यधिक निर्भर रहेको देखाएको छ। विशेषगरी भारत र चीनसँगको ठूलो व्यापार असन्तुलनले कुल व्यापार घाटालाई निरन्तर बढाइरहेको छ। अर्कोतर्फ, नाफामा रहेका अधिकांश देशसँगको व्यापारको आकार भने निकै सानो भएकाले त्यसले समग्र व्यापार सन्तुलनमा उल्लेख्य प्रभाव पार्न सकेको छैन।

    यसले नेपालको निर्यातयोग्य उत्पादन विस्तार, नयाँ अन्तर्राष्ट्रिय बजार खोजी तथा आयात प्रतिस्थापन गर्ने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता अझै बलियो बनेको संकेत गरेको छ।